रामेछाप । मन्थली नगरपालिकाको १ नं वडा आजदेखी बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ ।


“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ मन्थली नगरपालिका वडा नं १ मन्थलीलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । वडा कार्यालयले बालमैत्री शासन प्रणाली स्थापनाका लागि बाल बचाउ १४, बाल संरक्षण १०, बाल विकास ६, बाल सहभागिता ६ र संस्थागत विकास १५ गरी ५१ वटा सूचकहरु पुरा गरेपछि मन्थली १ नं वडा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको मन्थली नगरपालिका–१ का वडा अध्यक्ष होमप्रसाद पौडेल (रामहरी)ले जानकारी दिए ।

वडा कार्यालय मन्थलीको आयोजनामा भएको उक्त कार्यक्रमको शुरुवातमा वडा नं १ भित्र रहेका सवै विद्यालयका बालबालिका, शिक्षक, नागरिक समाज, संञ्चारकर्मी, व्यवसायी, राजनितिक दलका प्रतिनिधिहरु समेतले विभिन्न प्लेकार्ड सहित मन्थली वजार परिक्रममा गरी मन्थलीको तिनलालपार्कमा सभामा परिणत भएको थियो ।



उक्त कार्यक्रमको अध्यक्षता मन्थली नगरपालिका वडा नं १ का वडा अध्यक्ष होमप्रसाद पौडेलको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य पूर्णवहादुर तामाङ्गको प्रमुख आतिथ्यतामा भएको थियो । सोही कार्यक्रमको अवसरमा दुवै अध्यक्ष एवं प्रमुख अतिथिले बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा भएसँगै यसलाई निरन्तरता दिन प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।

मन्थली १ नं वडा कार्यालय सँगै मन्थली नगरभित्र रहेका १४ वटै वडाहरुमा एकै पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । वडा कार्यालयहरुले बालमैत्री वडा घोषणा गर्नुपुर्व सवै तयारी सम्पन्न गरे पश्चात जिल्ला समन्वय समितिले ती सवै वडाको स्थलगत रुपमा अनुगमन समेत गरेको थियो । अनुगमन पश्चात जिल्ला समन्वय समितिले सिफारिस गरेसँगै मन्थली नगरपालिकाका सवै वडा बालमैत्री वडा घोषणा हुन सफल भएका हुन् ।