सेतीदेवी मावि सालुले मनायो ६५ औं बार्षिक उत्सव

मेछाप । मन्थली नगरपालिका–४ सालु स्थित सेतीदेवी माध्यमिक विद्यालयले आफ्नो ६५ औं बार्षिक उत्सव विविध कार्यक्रमको आयोजना गरी मनाएको छ ।

शुक्रवार विद्यालय प्राङ्गणमा कार्यक्रम गरिएको थियो । २०१७ सालमा स्थापना भएको उक्त विद्यालयले विभिन्न आरोहअवरोह पार गर्दै ६५ वर्ष पुगेको छ । सो विद्यालयमा अध्ययन गरेका धेरै बिद्यार्थीहरु डाक्टर, इन्जिनियर,विभिन्न सरकारी कार्यालयका उच्च स्तरीय कर्मचारी, बिमान परिचालीका (क्याबिन क्रु) देखी विभिन्न संघसंस्थाका प्रमुख समेत भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र वस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि मन्थली नगरपालिकाका निर्वतमान नगर प्रमुख रमेशकुमार वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । बार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि वस्नेतले शिक्षा क्षेत्रमा सेती देवी माध्यमिक विद्यालयले लामो समयदेखी समय सापेक्ष शिक्षा बालबालिकाहरुलाई प्रदान गर्दै आएको र आगामी दिनमा पनि विद्यालयले अझै निकै ठूलो मेहनत गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । उनले पछिल्लो समय सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाको संख्या दिनानुदिन घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै शिक्षकहरुले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

विद्यालयको बार्षिक उत्सवको अवसरमा कार्यक्रमको बिशिष्ट अतिथि मन्थली नगरपालिका–४ सालुका वडा अध्यक्ष राजन घिमिरेले विद्यालयको शिक्षा क्षेत्रमा वडा कार्यालयले सकेको सहयोग गरेको बताए । उनले वडामा आएको वजेट मध्ये धेरै वजेट बालबालिकाको भविष्यसँग जोडिएको शिक्षा क्षेत्रमा नै खर्च गरेको भन्दै आफ्नो कार्यकालमा सेतीदेवी माध्यमिक विद्यालयलाई नगरकै उत्कृष्ठ विद्यालय बनाउन दिनरात लागि परेको बताएका थिए ।

कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक गगन बहादुर श्रेष्ठले विद्यालयले हालसम्म गरेका विभिन्न गतिविधिको बिषयमा जानकारी गराएका थिए । सोही समारोहमा विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र वियोगी, भिमवहादुर श्रेष्ठ, चन्दादाता एवं संरक्षक चेतन काफ्ले, पूर्व प्रधानाध्यापक हरीवहादुर मोक्तान, सहायक प्रधानाध्यापक रामकृष्ण श्रेष्ठ र निर्वतमान वडा अध्यक्ष बिरेन्द्र बज्राचार्यलाई सम्मान–पत्र सहित सम्मानित गरिएको थियो ।

त्यस्तै विद्यालयको शैक्षिक सुधारको लागि लागिपर्ने सो विद्यालयमा कार्यरत शिक्षकहरु भोलाकुमार कार्की, कमलबाबु खत्री, नारायणहरी सुवेदी, परशुराम खाती, अनिता पौडेल, गोमा थापा, सुमित्रादेवी श्रेष्ठ र लेखापाल तुलसीराज काफ्लेलाई प्रशंसा–पत्रले सम्मान गरिएको थियो । सम्मानित हुने सवैजनालाई कार्यक्रमका प्रमुख अतिथि र बिशिष्ट अतिथिले सम्मानपत्र सहित सम्मानित गरेका थिए ।

कार्यक्रममा स्थानिय राजनितिक दलका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व शिक्षक, पूर्व विद्यार्थी लगाएतका व्यक्तिहरुले आआफ्नो धारणा राखेका थिए । विद्यालय सुधारको लागि जस्तो सुकै सहयोग गर्ने प्रतिबद्धता विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले लागि पर्ने बताएको राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका उपाध्यक्ष शिवजी घिमिरले जानकारी दिए ।

विद्यालयको बार्षिक उत्सव कार्यक्रममा पूर्व विद्यार्थीहरुलाई पनि विद्यालयले सम्झेर बोलाएकोमा धेरै खुशि लागेको विद्यालयका पूर्व विद्यार्थी अरुणा केसीले जानकारी दिइन । उनले भनिन– मैले यहीँ विद्यालयवाट शिक्षा आर्जन गरेर विभिन्न क्षेत्रमा काम गर्ने अवसर पाए । आफुले अध्ययन गरेको विद्यालयलाई आफुले सकेको सहयोग गर्ने बताइन ।

Scroll to Top