रामेछाप । गएराती परेको अविरल वर्षातका कारण दोरम्बा शैलुङ्ग गाउँपालिका–३ टोकरपुर स्थित चिहान खोला नजिकै पहिरो जाँदा एक घर पूर्णरुपमा क्षती पुगेको छ भने चार घर उच्च जोखिममा रहेका छन् ।


पहिरोले स्थानिय झगरसिंह बसेलको ढुङ्गामाटोले बनेको कच्ची घर पूर्णरुपमा क्षति पुगेको छ भने चेली बसेलको चौपाया बाध्ने गोठ पहिरोले पुरिदा एक गाई र बाछो मरेको छ । उक्त स्थानमा १२ घरधुरीको वसोवास रहेको छ । जसमध्ये हरिकृष्ण वसेल, बुद्धिमान बसेल र चिना बसेलको घर उच्च जोखिममा रहेकाले तत्काल अन्यत्र सार्नुपर्ने अवस्था रहेको दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरका वडा अध्यक्ष सन्तलाल थापामगरले जानकारी दिए ।

खोला नजिकै रहेको वस्तीको घर माथिवाट झरेको पहिरोवाट वस्ती जोखिममा परेपछि तत्काल गाउँपालिकाका जनप्रतिनिधिहरु र इलाका प्रहरी कार्यालय टोकरपुरबाट प्रहरी सहितको टोली उद्धारको लागि सोमवार विहानै घटनास्थल पुगेको थियो । पहिरोको उच्च जोखिममा रहेका घरका सदस्यहरुलाई सुरक्षित स्थानमा सार्ने बिषयमा अहिले गाउँपालिकाको विपद् व्यवस्थापन समितिको वैठक डाकिएको दोरम्वा शैलुङ्ग गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले जानकारी दिइन ।



गत वर्षको भदौमा पनि अत्याधिक मात्रामा वर्षात हुँदा सोही वडाको लेखर्कमा पहिरोमा परी दश जनाको ज्यान गएको थियो भने ठूलो वस्ती नै पहिरोको उच्च जोखिममा परेको थियो ।