रामेछाप पूर्ण खोप जिल्ला भएको घोषणा

रामेछाप । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले बुधवार रामेछाप जिल्लालाई पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला भएको घोषणा गरेका छन् ।

जनस्वास्थ्य कार्यालय रामेछापमा भएको एक कार्यक्रममा मन्त्री थापामगरले उक्त घोषणा गरेका हुन् । जनस्वास्थ्य कार्यालयले जिल्लाभरका ८ वटै स्थानिय तहका ६४ वटै वडामा रहेका १६ वर्षदेखी २३ वर्ष उमेर समुहका बालबालिकाहरुलाई आवश्यक पर्ने सवै किसिमको खोप लगाउने काम सकेको छ । त्यस्तै बालकालिकालाई जन्मेको १५ महिनाभित्र लगाईसक्नु पर्ने सबै खोप लगाईसकेर विभिन्न ८८ वटा सूचकहरु पार गरेसँगै रामेछाप जिल्ला पूर्ण खोप समन्वय समितिको वैठकले पूर्ण खोप दिगोपना सुनिश्चितता भएको जिल्ला घोषणा गर्ने गरी निर्णय गरेको थियो ।

सोही निर्णय वमोजीम मन्त्री थापामगरले रामेछाप जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै मन्त्री थापामगरले सवै खोप सेवा र स्वास्थ्य क्षेत्रलाइ सुधार गर्ने गरी आवश्यक वजेटको विनियोजन गरेको र स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । उनले आगामी वर्षदेखी संञ्चारकर्मीको विमाको रकम स्वास्थ्य मन्त्रालयले नै व्यहोर्ने गरी काम भइरहेको बताए ।

उक्त घोषणा कार्यक्रम जिल्ला समन्वय समिति रामेछापकी प्रमुख एवं जिल्ला पूर्ण खोप समन्वय समिति संयोजक चिना खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठ लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

Scroll to Top