दुई गाउँपालिकामा एकीकृत आँखा इकाई संञ्चालनमा आउने

रामेछाप । रामेछापका दुर्गम गाउँका आँखाका विरामीहरुलाई सहजता होस् भन्ने उद्धेश्यले जिल्लाको सुनापति गाउँपालिका र उमाकुण्ड गाउँपालिकाका अस्पतालहरुमा एकीकृत आँखा इकाई सञ्चालनमा आउने भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानले आफ्नो कार्यक्षेत्रका जिल्लामा प्राथमिक अस्पताल मार्फत आँखा सेवा विस्तार गर्ने नीति अनुसार जिल्लाको सुनापति र उमाकुण्ड गाउँपालिकामा पनि एकीकृत आँखा इकाई सञ्चालन गर्न सम्वन्धित गाउँपालिकासँग सम्झौता गरेको हो । दुई गाउँपालिकाका अस्पतालहरुमा चाडै नै संञ्चालनमा ल्याउने गरी तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा जिल्ला सर्जिकल आँखा केन्द्र, सुनापति गाउँपालिका र उमाकुण्ड गाउँपालिका बिच संयुक्त रूपमा सम्झौता पत्रमा हस्ताक्षर गरी दुईपक्ष विच सम्झौतापत्र आदान–प्रदान गरिएको छ ।

दुई पक्ष विच भएको सम्झौता अनुसार चाडै नै दुई गाउँपालिकाको अस्पतालहरुमा आँखा इकाई सञ्चालनमा ल्याइने तयारी तिलगंगा आँखा अस्पतालले गरेको छ । यसका लागि आवश्यक पर्ने जनशक्ति र उपकरण सहितको सामाग्री चाडै नै पुर्याई सेवा विस्तार गर्ने तयारी रहेको तिलगंगा आँखा अस्पतालले जनाएको छ ।

यसअघि गाउँमा आँखामा सामान्य चोट लाग्दा पनि गाउँमा उपचार नभएर हजारौं रुपैयाँ खर्चेर राजधानी लगाएतका स्थानमा विरामीहरु जानुपर्ने वाध्यता थियो । अब गाउँमा नै आँखा सम्वन्धि जाँच, परिक्षण र उपचार सवै हुने भएपछि दुर्गम गाउँका नागरिकहरुले सहजता मिल्ने अपेक्षा आफुहरुले लिएको सुनापति गाउँपालिकाका उपाध्यक्ष गिता विष्टले जानकारी दिइन । उनले भनिन्–गाउँमै आँखा अस्पताल आउँदा आफुलाई धेरै खुशी लागेको छ । ढिलै भएपनि गाउँका आँखाका विरामी भएका नागरिकहरुले सहज तरिकाले गाउँमै सेवा पाउने छन् ।

यसअघि पनि तिलगंगा आँखा अस्पतालका चिकित्सकहरुले रामेछापका ८ वटै स्थानिय तहमा पुगी समयसमयमा आँखाका विरामीहरुको परीक्षणको लागि गाउँमै स्वास्थ्य शिविर संञ्चालन गर्दै आएका थियो । सामान्य आँखाका विरामीहरुलाई गाउँमा नै चश्मा वितरण, औषधी वितरण गर्ने र आँखाको मोतिया विन्दु भएका विरामीहरुको पहिचान गरी ती विरामीहरुलाई सदरमुकाम मन्थलीमा रहेको तामाकोशी अस्पतालमा शल्यक्रिया गर्दै आएको थियो भने जटिल विरामीहरुको हकमा भने तिलगंगा आँखा अस्पताल काठमाण्डौं नै लगेर उपचार गर्दै आएको थियो ।

Scroll to Top