रामेछापमा ६ हजार १ सय ३५ मतदाता थपिए

रामेछाप । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने संघीय संसद प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न रामेछापका ६ हजार १ सय ३५ जना मतदाताहरु थपिने भएका छन् ।

निर्वाचन आयोगले फागुन २१ गते हुने संसद निर्वाचनको लागि उमेर पुगेका र मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएका मतदाताहरुको लागि नाम दर्ता र अद्याबधिकको लागि दिएको समय सिमा भित्र मतदाताहरु थपिएका हुन् । निर्वाचन कार्यालयमा उपस्थित भएर १ हजार २ सय ३५ जनाले नाम दर्ता गराएका छन् भने अनलाईन मार्फत ४ हजार ९ सय जनाले आफ्नो नाम मतदाता नामावलीमा समावेश गराएका हुन् ।

यसअघि रामेछापमा जिल्लामा कुल १ लाख ८१ हजार ६ सय १४ जना मतदाता कायम रहेका थिए । जसमध्ये ८८ हजार ५ सय ८५ जना महिला र ९३ हजार २९ जना पुरुष रहेका थिए । हाल कार्यालयमा आएर नामवली दर्ता गर्ने र अनलाईन मार्फत नाम गराएको संख्या निर्वाचन आयोगवाट एकिन भएर आएको खण्डमा रामेछापको कुल मतदाता संख्या १ लाख ८७ हजार ७ सय ४९ पुग्ने जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकृत नारायण लामिछानेले जानकारी दिए ।

Scroll to Top