रामेछाप । जिल्लाको मन्थली नगरपालिका–६ भलुवाजोर स्थित त्रिवेणी मन्दिर नजिकैको लिलितिको भीरमा मंगलबार विहान करिव साढेदश वजेको समयमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

काठमाडौं स्थित चाबहिलवाट रामेछापको सदरमुकाम मन्थली– लिखु तामाकोशी गाउँपालिकाको सिरीसे ढाँडे हुदै ओखलढुंगाको पोल्थली तर्फ जादै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ पूर्व अरनीको यातायात सेवा समितिको यात्रु बाहक बस दुर्घटनामा परेको हो । गाडी दुर्घटनामा परी ज्यान गुमाएकाहरु मध्ये दशजनाको पहिचान खुली सनाखत भएको छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका ७ तिल्पुङको एकै परिवारका ४ जना रहेका छन् । जसमा भिमवहादुर तामाङ, जानुमाया तामाङ, तारा तामाङ र रमिता तामाङ रहेका छन् । त्यसैगरी बसका धनी लिखु तामाकोशी ४ विजुलीकोट स्थित कोटगाउँमा दिपेन्द्र वस्नेतको पनि सो दुर्घटनामा परी ज्यान गएको छ । मृतक गाडीधनी बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी लिखु तामाकोशी गाउँपालिकाको संगठन विभागका प्रमुख रहेका थिए । उनी केही समयअघि मात्रै बैदेशिक रोगजारबाट फर्केर बस व्यवसायमा संलग्न भएका थिए ।


त्यस्तै सोही दुर्घटनामा परी अन्य ज्यान गुमाउनेहरुमा रामेछापकै लिखु तामाकोशी गाउँपालिका ६ का खिम्तीका दिपेश वस्नेत र मानवहादुर बरुवाल रहेका छन् । त्यसैगरी दोलखाको भिमेश्वर नगरपालिका ७ की बवि तामाङ, दोलखाको भिमेश्वर नगरपालिका ८ का मानवहादुर तामाङ र सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका ६ का शिव श्रेष्ठ रहेका छन् ।
यस बाहेक उक्त दुर्घटनामा परी मृत्यु हुने दुईजनाको शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए । मृतक सवैको शब मन्थली स्थित मन्थली अस्प्तालमा रहेको र मृतकको पहिचान खुलेका व्यक्तिहरुको शव पोष्र्टमार्टम शुरु गर्न थालेको उक्त अस्पतालले जनाएको छ ।
सो बस दुर्घटनामा परी ८ जना यात्रु घाइते भएका छन् । घाइतेहरु मध्ये बसका चालक रामेछापको मन्थली नगरपालिका ११ का ३१ बर्षिय सुशान्त थापामगर, खाडाँदेवी गाउँपालिका ३ का २१ वर्षिय समिर श्रेष्ठ र मन्थली नगरपालिका १२ की वर्ष ३३ की देवकी खड्का रहेका छन् ।
त्यसैगरी उमाकुण्ड गाउँपालिका ७ की निष्मा शेर्पा र सोही वडाका वर्ष ५२ का सोम देण्डी शेर्पा, लिखु तामाकोशी गाउँपालिका ४ का ५१ वर्षिय ओलक वहादुर थापा घाइते भएका छन् । यसैगरी सोही दुर्घटनामा परी ओखलढुङ्गा जिल्ला खिजीदेम्वा गाउँपालिका २ का ४५ वर्षिय जयवहादुर तामाङ र दोलखा जिल्ला भिमेश्वर नगरपालिका ७ का १६ बर्षिय निलिमा तामाङ रहेका छन् ।
घाइते मध्ये गाडी चालक शुसान्त थापामगरलाई मन्थली स्थित तामाकोशी अस्पतालमा सामान्य उपचार पछि अस्पतालवाट डिस्चार्ज भएसँगै प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य ७ जना घाइतेहरुलाई घटनास्थलवाट स्थानिय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र गोताखोर टोली, नेपाली सेनाले उद्धार गरी सिन्धुलीको खुर्कोट स्थित शुभ जीवन र सुनकोशी अस्पतालमा उपचारको लागि भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि सवै विरामीलाई थप उपचारको लािग काभ्रेको धुलीखेल अस्पताल र छाउनी अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।


