मृतकका परिवारले सहमति विपरित रोके गाडी, यात्रु अलपत्र

रामेछाप । बस दुर्घटनापछि मृतका परिवार, व्यवसायी र प्रशासन विच भएको सहमति विपरित मृतकका आफन्तले शुक्रवार पूर्व अरनिको यातायात सेवा समितिका यात्रु बाहक बस जिल्लाको दुई स्थानमा रोकेका छन् ।

मंगलवार दिउँसो भएको दुर्घटनापछि बुधवार मध्यराती पिडीत पक्ष, व्यवसायी र प्रशासन विच सहमती भएको थियो । तर सो सहमति विपरित मृतकका आफन्तहरुले आज काठमाडौंबाट लिखु तामाकोशी गाउँपालिकाको–७ को तिल्पुङ हुदै ओखलढुंगाको खिजी फलाटेका लागि छुटेका बागमती प्रदेश ०१–००६ ख ३८७६ र ओखलढुङ्गावाट यात्रु लिएर काठमाण्डौंको लागि छुटेको ०१–००६ ख ०६३५ नम्वरको यात्रु बाहक बसलाई लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ्गको आरुवोटेमा रोकेका छन् ।

उक्त बसमा करिव ५० जना भन्दा बढी यात्रुहरु अलपत्र परेका छन् । मृतकका परिवारले शुरुमा गाडी रोकेर कुट्न खोजेपछि ३८७६ नम्वरका गाडीका सहचालक भागेर सोही वडाको हलेदे भन्ने स्थानमा आएर लुकेर वसेका छन् । गाडी भित्रै रहेका चालक श्यामकुमार श्रेष्ठलाई स्थानियले कुटपटि गरे भनिएता पनि कुनै पनि गाडीका चालक र सहचालकलाई कुटपिट नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन प्रसाद तिम्सिनाले जानकारी दिए ।

त्यसैगरी आज विहान काठमाडौंबाट यात्रु लिएर रामेछापको मन्थली तर्फ आउदै गरेका सोही कम्पनीका अन्य तीनवडा यात्रु बाहक वस पनि बस दुर्घटनास्थल रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरको लिलौति भन्ने स्थानमा मृतकका आफन्तले रोकेका छन् । दुर्घटनास्थलमा हराएका आफन्तको खोजीमा गएका पिडीतहरुले ती वस रोकेका हुन् ।

अहिले दुवै घटनास्थलमा सुरक्षाकर्मी पुगेर गाडी र यात्रुको सुरक्षा गरिरहेका छन् । बुधबार मध्यराती प्रशासनमा भएको सम्झौतापछि गाडी नियमित संचालन गर्ने सहमती भएको थियो । सहमतीमा मृतकका आफन्त र स्थानीय प्रशासन विच अवरुद्ध सडक संचालन गर्ने, मृतकको शव वुझ्ने, कानुन बमोजिम दिईने क्षतिपूर्ति तत्काल उपलव्ध गराउने निर्णय भएको थियो ।

मृतकका आफन्तहरु बिच भएको सहमती पछि यात्रु लिएर हिडेका यात्रुबाहक बस पिडीत पक्षले रोकेपछि पूर्व अरनिको यातायात सेवा समिति भक्तपुरले शुक्रबार अपरान्ह सूचना जारी गरी खुर्कोट हुदै मन्थलीको बाटो प्रयोग गरी संचालन हुने सम्पूर्ण क्यू का बसहरु सुरक्षा जोखिमका कारणले अर्को सूचना नआए सम्मको लागि स्थगीत गरेको जनाएको छ ।

उक्त कम्पनीबाट उक्त रुट हुदै दैनिक झण्डै ७५ भन्दा बढी यात्रुबाहक बस ओहोर दोहोर हुदै संचालन हुँदै आएको रामेछापको मन्थली काउन्टर प्रमुख सुबाश फुयालले जानाकारी दिए । मंगलबार विहान मन्थली नगरपालिका–६ स्थित लिलौति भन्ने स्थानमा काठमाडौंबाट ओखलढुंगाको पोल्थलीका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुदा १२ जनाको ज्यान गएको थियो । त्यस्तै सो घटनामा परी अझै तीन जना वेपत्ता रहेका छन् भने ८ जना घाइते भएका थिए । वेपत्ताको खोजी कार्य जारी भएता पनि अझै फेला पर्न सकेको छैन् ।

Scroll to Top