गाडी दुर्घटनामा बेपत्ता एकको शव फेला अन्य दुईको खोजी जारी

रामेछाप । गाडी दुुुुुुर्घटनामा वेपत्ता भएका तीन बालक मध्ये मन्थली नगरपालिका–२ का ९ वर्षीय क्रिचन तामाङको शव फेला परेसँगै मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

उनको शब दुर्घटनास्थलवाट करिव २ किलोमिटर तल सिन्धुलीको तल्लो खुर्कोट बजारको सुनकोशी नदी छेउमा आइतवार बिहान फेला परेको हो । दुर्घटनास्थलवाट शब नदीले वगाउँदै लगेकोे हुनसक्ने जनाइएको छ । सोही दुर्घटनामा परी लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवारको अवस्था भने अझै अज्ञात रहेको छ ।

सोमवार (माघ २७ गते) काठमाडौंबाट मन्थली–खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ–सिरिसे–ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बाग्मती प्रदेश ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यात्रुवाहक बस मन्थली नगरपालिका–६ स्थित त्रिवेणी मन्दिर नजिकै दुर्घटनामा परी १२ जनाको ज्यान गएको थियो । उक्त गाडीमा सवार मध्ये तीन वालक बेपत्ता भएका थिए भने ८ यात्रु घाइते भएका थिए ।

गाडी दुर्घटनापछि सशस्त्र प्रहरीको गोताखोर टोली, नेपाल प्रहरी र पिडीतका परिवार खोजी कार्यमा जुटेका छन् । खोजी कार्यको सातौ दिनमा एकजनाको शव फेला परेपनि अन्य दुईको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन प्रसाद तिम्सिनाले जानकारी दिए ।

Scroll to Top