रामेछाप । गत सोमवार भएको बस दुर्घटनामा परी हराइरहेका एक युवकको शव मगंलवार सुनकोशी नदी किनारमा भेटिएसँगै मृतकको संख्या चौध पुगेको छ ।

गत सोमवार रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोर स्थित लिलौतिको भिरमा बस दुर्घटनामा परी तामाकोशी नदीमा झरेको थियो । उक्त बस दुर्घटना स्थलवाट करिव २ सय ५० मिटर दक्षिण सुनकोशी नदीमा उक्त शव फेला परेको हो । उक्त शव रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वरका २४ बर्षिय विशाल तामाङको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी राजन तिम्सिनाले जानकारी दिए ।
मृतकको शव मगंलवार दिउँसो सुनकोशी नदी किनारमा स्थानियहरुले देखेपछि प्रहरीमा खवर गरेका थिए । घटनास्थल पुगेका प्रहरी र मृतकका आफन्तहरुले शव पहिचान गरी घटनास्थल मुचुल्का उठाई शव पोष्र्टमार्टमको लागि मन्थली अस्पताल ल्याइएको छ । बस दुर्घटनामा हराएका तीन मध्ये सोमवार (हिजो) मात्र मन्थली नगरपालिका–२ कठजोरका ९ बर्षिय बालका क्रिचन तामाङको शव सिन्धुलीको तल्लो खुर्कोट बजार नजिक सुनकोशी किनारमा फेला परेको थियो ।


बस दुर्घटनामा परी हराइरहेका लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङको अवस्था भने अझै अज्ञात रहेको छ । उनको शसस्त्र प्रहरीको गोताखोर, नेपाल प्रहरी र उनका आफन्तहरुले खोजी कार्य जारी राखेका छन् । सोमवार (माघ २७ गते) काठमाडौंबाट मन्थली–खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ–सिरिसे–ढाँडे हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बाप्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यात्रुवाहक बस मन्थली नगरपालिका–६ स्थित त्रिवेणी मन्दिर नजिकै दुर्घटनामा परी १२ जनाको ज्यान गएको थियो । उक्त गाडीमा सवार मध्ये तीन वालक बेपत्ता भएका थिए भने ८ यात्रु घाइते भएका थिए ।




