हिन्दुत्वप्रति अमेरिकी प्राध्यापकको गहिरो आस्था

Posted on: October 09, 2016 | views: 105131

क्रिश्चियन धर्मभन्दा हिन्दुू धर्म उदार छ : लाउरा अमाजोने
काजीबहादुर बस्नेत (रबिन)
काठमाडौं ।  ‘गडेश दुर्गा एण्ड स्याक्रेड फिमेल पावर’ जस्तो अनुसन्धानामक पुस्तक लेखेर विश्वमा चर्चा आएकी अमेरिकी प्राध्यापक लाउरा अमाजोनेले हिन्दू धर्म क्रिश्चियन वा अन्य धर्मभन्दा धेरै उदार, व्यवहारिक, प्राचीन तथा अत्यन्त मानवतावादी भएको बताएकी छिन् ।


नवरात्रीभर दुर्गा पूजा गर्न काठमाडौं आएकी प्राध्यापक लाउरालेले ठमेल ज्याठास्थित कान्तिपुर टेम्पल हाउस होटलमा आफ्ना आठ जना विद्यार्थी सहित पूजाआराधना गरिरहेकी छिन् । हिन्दू साप्ताहिकसँग कुरा गर्दै उनले भनिन् –‘हिन्दू धर्ममा महिलाको स्थान अत्यन्त उच्च छ । शिव र शक्तिको संयोजन गरेर प्राचीनकालदेखि मानवता, देवी देवताको अस्तित्व, अध्यात्मप्रतिको चेतना एवं धर्म संस्कृतिप्रतिको उच्च समर्पणले गर्दा पूर्वीय गोलाद्र्धमा शान्ति र अनुशासन देखिन्छ भने अन्य धर्ममा केही समस्या छन् ।’


आफू इसाई परिवारमा जन्मिएपनि हिन्दू धर्म र संस्कृतिप्रति अगाध आस्था रहेकाले दश वर्ष अध्ययन अनुसन्धान गरेर आफूले दुर्गा भगवति र स्त्री शक्तिका बारेमा पुस्तक लेखेको उनले बताएकी छिन् । आफू हिन्दू भन्दा पनि बढी हिन्दू धर्मको हिमायती, उपासक र प्रशंसक रहेको उनको तर्क छ ।


हिन्दू नाम अम्विका बताउने लाउराको कथन छ – ‘क्लालिफोर्नियास्थित मेरो घरमा म सधै दुर्गा भवानीको आराधना गर्ने गर्छु । यसो गर्दा मलाई अपार शान्ति मिल्छ । विश्वविद्यालयमा हिन्दू धर्म र तत् सम्वन्धी विषयमा पढाउँछु । हिन्दू धर्मको सबैभन्दा ठूलो विशेषता भनेको मानवता हो र संसारलाई एउटै परिवार ठान्ने उदात्त दृष्टिकोणबाट यो धर्म अभिप्रेरित रहेको छ । जवकि बाइवलमा त्यो छैन ।’
हिन्दू धर्मले दुर्गा भवानीलाई न्यायको प्रतीक मानेको छ । महिषासुर जस्तो परपीडक राक्षसलाई कठोर दण्ड दिएर दुर्गामाताले संसारका सबै महिलालाई सम्मान र न्याय दिनुपर्छ भन्ने सन्देश दिनुभएको बताउँदै उनले हिन्दू धर्मको गहिरो अध्ययन नगरेर अपव्याख्या गर्नु उचित नहुने बताएकी छिन् ।


जातपातको भेदभाव, गरिबी, अभावलगायतका  कतिपय कमजोरीलाई लिएर नेपालमा इसाई मिसनरीहरुले  खेलिरहेको बताउँदै धर्मका नाममा फैल्याइएका विकृति हटाउनु पर्ने सुझाव दिएकी छिन् । धर्म र रिलिजन फरकफरक कुरा भएकाले त्यसलाई त्यसरी नै बुझ्नुपर्ने तर्क गर्दै प्राध्यापक लउरा भन्छिन् – ‘म आफूलाई लेखक, शिक्षक, योगिनी र हिन्दू धर्मप्रति अगाध आस्था राख्ने व्यक्ति सम्झन्छु ।’ क्यालिफोर्निया र लसएन्जलसको लोयला मेरिमाउन्ट विश्वविद्यालयमा पढाइरहेकी लाउराको पुस्तकको प्रशंसा गर्दै पुलिटजर पुरस्कार विजेता लेखक तथा कवि एलिस वाकरले भनेका छन् –‘लाउराको पुस्तक विद्वतापूर्ण छ ।’
दर्शन शास्त्र र धर्मशास्त्रमा स्नातकोत्तर उपाधि लिएकी लाउराले काठमाडौं उपत्यकाका सबै शक्तिपीठहरुको पूजा गर्दै आएकी छिन् । पर्यटन व्यवसायी भरत बस्नेतद्वारा सञ्चालित कान्तिपुर टेम्पल हाउस होटल परम्परागत शैलीमा बनेकाले यहाँको कला र सौन्दर्यबाट आफू प्रेरित भएकाले यही होटलमा गएर दुर्गाको पूजा गर्ने निर्णय आफूले गरेको बताउँदै उनले प्राचीन धर्मसंस्कृति राष्ट्रको पहिचान भएकाले यसलाई जोगाउनु पर्ने र नेपालको हिन्दू धर्मको इतिहास युवापुस्तालाई समेत राम्र्ररी सिकाउनु पर्ने सल्लाह दिएकी छिन् ।
नेपाललाई धर्मनिरपेक्ष भनेर घोषणा गरिएको कुराप्रति व्यग्य गर्दै उनले भनिन् –‘धर्म, संस्कृति परम्परा नबुझ्नेहरुले संविधानमा त्यस्तो लेखेका छन् भने त्यो उनीहरुको अज्ञानता हो ।’
उनले विभिन्न धर्मको अध्ययन गरेपछि महिलाको सवैभन्दा बढी सम्मान गर्ने धर्म हिन्दू धर्म नै रहेछ भन्ने बुझेर आफू यसको प्रचारप्रसार तथा साधनामा लागेको बताएकी छिन् । नेपालमा कतिपय व्यक्तिले आफ्नो परम्परागत धर्म, संस्कृति त्यागेर बाहिरी धर्म र आस्था स्वीकार गरेकोमा आफूलाई दुःख लागेको पनि उनले बताइन् ।


लाउराले नवरात्रभर विहानै हिन्दू विधिविधानपूर्वक दियो–कलश, पुष्प, नैवेध्य र धुप सहित सामुहिक रुपमा विभिन्न शक्तिरुपको पूजा गरिरहेकी छिन् । उनले यसरी साधना र आराधना गर्दा आफूलाई अपार आनन्द आउने र यस आराधनामा सहभागी हुन अमेरिका तथा क्यानडालगायतका ठाउँबाट आफ्ना विद्यार्थीहरु समेत काठमाडौंमा आएको बताइन् ।


दिनहुँ चण्डी तथा दुर्गा सप्तसतीलगायतका पाठहरु सस्वर वाचन गरेर आफूले विद्यार्थी र साथीहरुलाई समेत हिन्दू धर्ममा स्त्री शक्तिको महत्वबारे बुझाइरहेको पनि उनले बताएकी छिन् । झण्डै १६÷१७ वर्षअघिदेखि हिन्दू धर्ममा आकर्षित भएकी लाउराले भविष्यमा पनि हिन्दू धर्मको साधन, प्रचारप्रसार र अनुसन्धानमा लागिरहने बताएकी छिन् ।

लाउरा अमाजोनेबारे थप जानकारीको लागि - http://www.lauraamazzone.com

Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com