कान्छा नगर अध्यक्ष थापा

Posted on: February 12, 2017 | views: 5919

काठमाडौं, फागुन १ । राप्रपाको यही फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा महाधिवेशन हुँदैछ । महाधिवेशनमा देश भरीबाट ३५ सय प्रतिनिधि चयन भएको बताइएको छ । ती मध्ये श्रीराम थापा काठमाण्डौ जिल्लाको चन्द्रगिरी नगरपालिकाको पार्टी अध्यक्षमा सर्वसहमतिले निर्वाचित भएर महाधिवेशन प्रतिनिधि चयन भएका छन् । २६ वर्षीय थापा पार्टीको नगर अध्यक्ष बन्ने सवैभन्दा कान्छा व्यक्ति हुन् ।
राजनीतिशास्त्र, समाजशास्त्र एवम् बीए.एलएल.बी (कानून)का विद्यार्थी समेत रहेका थापा साना उमेरमा नै राप्रयुसंको ईकाई अघ्यक्ष हुदै काठमाण्डौ जिल्ला सचिव समेत भइसकेका छन् । काठमाडौंस्थित स्थानीय निकायमा तत्कालीन राप्रपा नेपाललाई राजनीतिक रुपमा निषेध गरेको बेला आफ्नो अगुवाईमा काठमाडौंमा सर्वदलीय संयन्त्रमा पार्टीको प्रतिनिधित्व गराउन प्रमुख भूमिका निर्वाह गरेको थापाले बताएका छन् ।

स्थानीय विकासका विभिन्न कामको अग्रपंत्तिमा रहँदै आएका थापाले विशेष गरी २०७२ वैशाखको १२ र २९ गतेको विनाशकारी भूकम्पपछि परोपकारमा उल्लेखनीय काम गरेको स्थानीय जनता बताउँछन् ।
पार्टीले गरेका आन्दोलनमा पनि अग्रमोर्चामा देखिने थापाले विभिन्न मञ्चमा प्रखरवक्ताका रुपमा देखिने गरेका छन् । राष्ट्रिय युवा मोर्चाको केन्द्रिय सदस्य समेत रहेका थापालाई पार्टी अध्यक्ष कमल थापा निकट मानिन्छ ।
सर्वधर्म सद्भाव तथा धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्र नेपाल वास्तवमा सामाजिक–सांस्कृतिक  एवम् आर्थिक विकासका निम्ति पनि घोषणा हुनुपर्ने थापाले बताएका छन् । उनी भन्छन् ‘हिन्दुत्व नेपाल सभ्यताको एक उदार घर्म हो जहाँ सबै मानव सभ्यताको विकास भएको छ । हिन्दुत्व नेपाली समाजको मात्र होइन मानव विकासको पनि दैवी स्रोत हो ।’
नेपालको सभ्यता, विकास र कानून समेत वैज्ञानिक हिन्दु दर्शनबाट निर्देशित रहेको बताउँदै युवा नेता थापा भन्छन् ‘जसरी समाज र राष्ट्र भाषा निरपेक्ष हुन सक्दैन त्यसरी नै कुनै समाज र राष्ट्र पनि धर्मनिरपेक्ष हुन सक्दैन । वैदिक सनातन हिन्दु धर्म भनेको नै उदार समाजिक–प्रजातन्त्रिक  अग्यासको मूर्त मान्यता हो । जुन मान्यता नेपाली राष्ट्रियताको  मेरुदण्ड पनि हो । तसर्थ राप्रपाको ऐतिहासिक एकता महाधिवेशन मार्फत सिंगो देशको राष्ट्रिय एकता, सामाजिक, आर्थिक, राजनीतिक निकास एवम् विकासका निम्ति, वृहत  देशभक्त राष्ट्रवादी प्रजातन्त्रिक शक्ति निर्माण महाअभियानका लागि संबैधानिक राजसंस्था र सर्वधर्म सद्भाव एवम् हिन्दुराष्ट्र र विकासवादि जनताको प्रजातन्त्रका खातिर यस ऐतिहासिक महाधिवेशन केन्द्रित हुनेछ, हुनुपर्छ ।’
नेपालमा कानुनी शासन स्थापित हुन नदिन पहिले देखि भ्रष्टाचार, कालोबजार, तस्करीलगायतका विकृति मौलाएको वताउँदै थापा भन्छन् “भ्रष्टचार र तस्करी गर्दै आएको समुह बिभिन्न दल भित्र प्रवेस गरेर सरकारमा पुगेका छन् । सरकारको नेतृत्व लिइरहन चाहने नेता तथा दलहरु जोसुकैसंग पनि हात मिलउन तयार भएको देखिन्छ । भ्रष्ट नेता, भ्रष्ट कर्मचारी र दुई नम्बरी ब्यापारीहरुवीच अपबित्र गठबन्धन कायम भएको देखिन्छ । दल र नेताहरुले आफुलाई बेचेको देखिन्छ । त्यस्ता अपराधी र कानूनको धज्जी उडाउनेहरुलाई राजनैतिक संरक्षण मिलेको देखिन्छ । त्यसैले उनीहरुको मनोवल बढेको देखिन्छ ।”
ज्ञान, वुद्धि, विवेकविहीनहरु पैसाको भरमा निर्वाचन जितेर, समानुपातिकबाट सांसद बनेर मन्त्री समेत भएको बताउँदै थापा भन्छन् “इमान्दार, नैतिकवान व्यक्तिहरु ओझेल परेका छन् । बिभिन्न दलका नेताहरुले आपराधिक संगठनको पनि सहायोग लिने गरेकाले राजनीतिभित्र अपराधले खुला प्रबेश देखिन्छ । अहिलेको नेपाल पुँजि र श्रम बीचको तनाव हैन कि सुशासन चाहनेहरु र कुशासनबाट लाभ लिनेहरु बिचको द्वन्द्व र राष्ट्रवादी र राष्ट्रघातीको टकरापमा  फँसेको छ । कुशासनबाट लाभ लिनेहरुले बर्तमान राजनीतिलाई कब्जा गरेका छन् ।”
राष्ट्रिय अस्मिता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय सार्वभौमसत्ता बाह्य तत्वको पोल्टोमा सुम्पने प्रयास भइरहेको भन्दै आक्रोशित मुद्रामा थापा भन्छन् “राष्ट्रियता, प्रजातन्त्र, देश र जनताको भविष्य  धरापमा परेको छ, यसरी प्रजातन्त्रिक गुणको विकास होइन विनाश भइराखेको छ । यसको अचुक उपाय भनेको राजनीतिक एवम् सांस्कृतिक  पुनः जागरण नै हो । यस्तो पुनः जागरण महाअभियान हाम्रो महान गौरवशाली देशभक्त राष्ट्रवादी प्रजातन्त्रिक विकासवादी तथा सुस्पष्ट विचार र अलग पहिचान सहितको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्नेछ ।”
राप्रपाले सम्वैधानिक राजतन्त्रको एजेण्डा लिएर अघि बढ्नुपर्ने थापाले बताएका छन् । उनले देशको अभिभावकका रुपमा राजालाई सबैले सम्मान गर्नुपर्ने बताउँदै सम्वैधानिक राजतन्त्र आवश्यक भएको बताएका छन् ।




Share your thoughts!


Janavani Publication Pvt.Ltd. (Reg. 128336/071/072)
Dillibazar (Pipalbot), Kathmandu
01–4423794, Mob. No. 9841701030, 9841583487
palpalkokhabar@gmail.com