रामेछाप । केही वर्षअघि गाई र भैसीमा महामारीको रुपमा देखिएको लम्पी स्किन रोग खोप अभियानले केही समय हराएर पुनः पशु चौपायालाई देखापर्न थालेपछि मन्थली नगरपालिकाले महामारी विरुद्ध खोप अभियान संञ्चालन गरेको छ ।

पशु सेवा कार्यालय सिन्धुली र मन्थली नगरपालिकाले संयुक्त रुपमा भदौ १ गतेदेखी खोप अभियान संञ्चालन गरेका हुन । मन्थली नगरपालिकाको १४ वटै वडामा दुई साताभित्र अभियान सम्पन्न गर्नेगरी वडा नै पिच्छे पशु प्राविधिक कर्मचारी आवश्यक औषधी सहित खोप अभियानमा खटाइएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवर्शी सापकोटाले जानकारी दिए ।
लम्पी स्किन रोगका कारण पशुहरुमा घाउ खटिरा आउने, खटिरा बढ्दै गएर पाक्न शुरु गर्ने, उच्च ज्वरो आउने, पशु झोक्राउने, पशुले घाँस तथा दाना खान नसक्ने जस्ता लक्षणहरु देखापर्ने गर्दछन् । लम्पी स्किन रोगवाट यसअघि किसानहरुले पालेका धेरै गाई र भैसी मरेका थिए । जसका कारण धेरै किसानहरुले लाखौं रुपैयाँ गुमाउन वाध्य हुनुपरो ।


किसानहरुले हजारौं मूल्य तिरेर खरिद गरेका गाई भैसी एकाएक लम्पी स्किन रोगवाट मर्न थालेपछि रामेछापका किसानहरु चिन्तित बनेका छन् । सो रोगवाट गाई र भैसी मर्दा धेरै किसानहरुको गोठ खाली हुन पुगेको मन्थली नगरपालिका–४ सालुका जयवहादुर खत्रीले जानकारी दिए । उनले भने– विगत वर्षमा भनेको समयमा औषधी र प्राविधिक समेत पाउन समस्या थियो । यसवर्ष नगरपालिकाले पशुमा रोग देखापर्ने वित्तिकै खोप अभियान संञ्चालन गरेकाले विगत वर्षमा जस्तो यसपाली किसानहरुले क्षती व्यहोर्नु नपर्ला खत्रीले बताए ।