मापदण्ड बिपरीत दूध बेच्ने व्यवसायी परे कारबाहीमा

रामेछाप । मादपण्ड बिपरीत दूध बिक्रीबितरण गर्दै आएका तीनवटा डेरीलाई जिल्ला प्रशासन कार्यालय रामेछाले जरिवाना गरेको छ ।

यसअघि अनुुगमन समितिले निर्धारण गरेको दूधको गुणस्तर मापदण्ड पूरा नगरी दूध बिक्री गरेको भेटिएपछि सदरमुकाम मन्थलीमा सञ्चालित चिरञ्जीवी डेरी, रामेछाप डेरी र अमृत डेरी उद्योगलाई प्रति डेरी उद्योग १५÷१५ हजार जरिवानामा गरिएको हो । यी डेरीहरूले बजार अनुगमन समितिले निर्धारण गरेको आवश्यक प्राविधिक मापदण्ड पूरा नगरी आफुखुशी दूधको मूल्य निर्धारण गरी दूध बिक्री वितरण गरिरहेको भन्ने गुनासो उपभोक्ताले गरेपछि रामेछापका निमित्त प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको निर्देशनमा घरेलु तथा साना उद्योग कार्यालयले अनुगमन गरेको हो ।

आम उपभोक्ताहरुले गरेको गुनासो पछि अनुगमन समितिका सदस्य एवं घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सुबोध कुमार साह नेतृत्वको टोली ग्राहक बनेर तीन वटै डेरीबाट गाई र भैँसीको आधा÷आधा लिटर दूध खरिद गरेर परीक्षण गरेका थिए । डेरीले बिक्री गरिरहेको दूध परीक्षण गर्दा गाईको दूधमा फ्याट प्रतिशतमा पालना गर्नुपर्ने दूधको गुणस्तर मापदण्ड अनुरूप भेटिएन । मादण्ड अनुसार गुणस्तर नभेटिएपछि तीन वटै डेरीलाई कानुन अनुसार १५÷१५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय रामेछापमा वैशाख ७ गते निमित्त प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको अध्यक्षतामा बसेको जिल्ला बजार अनुगमन समितिको बैठकले गाई तथा भैँसीको दूधको फ्याट मापदण्ड सहित मूल्य निर्धारण गरेको थियो । बैठकले न्यूनतम फ्याट ४ प्रतिशत र ८ प्रतिशत एस.एन.एफ भएको गाईको दूधको अधिकतम खुद्रा मूल्य प्रति लिटर ९५ रुपैयाँ निर्धारण गरेको थियो । त्यस्तै न्यूनतम ५ प्रतिशत फ्याट र ८ प्रतिशत एस.एन.एफ भएको गुणस्तरीय भैँसीको दूध मात्रै बिक्री गर्ने निर्णय भएको थियो ।

Scroll to Top