रामेछाप । रामेछापको सुनापति गाउँपालिका–१ गुन्सीमा एक शिक्षकले आफु हिड्ने बाटोमा वडा अध्यक्षले पैसा नछुट्टाएको भन्दै वडा कार्यालयमा पुगेर वडा अध्यक्ष माथि आक्रमण गरेका छन् ।
बुधबार दिउँसो टन्न मादक पदार्थ सेवन गरेर सुनापति गाउँपालिका–१ गुन्सी वडा कार्यालयमा पुगेका सोही वडा निवासी शिक्षक निराजन घिसिङ्गले वडा अध्यक्ष ध्रुव चौलागाई माथी आक्रमण गरेका हुन् । शिक्षक निराजन हाल दोरम्वा शैलुङ्ग गाउँपालिका–६ मा रहेको बुद्धेश्वरी आधारभूत विद्यालयमा कार्यरत छन् ।
सोही वडामा चालु आर्थिक वर्षमा वडा कार्यालयवाट छुट्टाएको वजेटवाट खानेपानी योजना सम्पन्न गरेर अन्तिम भुक्तानीको लागि सिफारिस लिन पुगेका निराजनले वडा कार्यालयमा प्रवेश गर्ने वित्तिकै सडकमा पैसा किन नछुट्टाएको भन्दै वडा अध्यक्षमा माथी जाइलागेका थिए । वडा अध्यक्ष चौलागाईले वजेट परेको छ त भन्दा भन्दै शिक्षक निराजनले अकस्मात अध्यक्ष माथी आक्रमण गरेका थिए । अध्यक्षमाथी शिक्षकले मुक्का बर्षाउन थालेपछि छेक्न खोज्दा सेवाग्राही देवीप्रसाद गौतम घाइते भएका छन् ।
घाइते गौतमको शिक्षक निराजनको मुक्काबाट आँखा माथि र नाकमा चोट लागेको छ । सोही घटनालाई लिएर वडा अध्यक्ष चौलागाईले बुधवार नै प्रहरी चौकी गुन्सीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरीले शिक्षक निराजनलाई प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई प्रहरी हिरासतमा राखेको छ ।
कार्यालयमा बसेर नागरिकको काम गर्दै गर्दा अकस्मात मादक पदार्थ सेवन गरी अपशव्द बोली आफुमाथी जाइलागेको भन्दै वडा अध्यक्ष ध्रुव चौलागाईले बिहिबार जिल्ला प्रहरी कार्यालय रामेछापमा अभ्रद व्यवहार कसुरमा जाहेरी दर्ता गरेका छन् । सोही जाहेरीको आधारमा शिक्षक निराजनलाई जिल्ला प्रशासन कार्यालय रामेछापवाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिए ।