
रामेछाप । गएको आर्थिक वर्ष २०७९÷०८० मा रामेछाप नगरपालिकाले लक्ष्य भन्दा बढी राजश्व रकम संकलन गरेको छ ।

नगरले गएको आर्थिक वर्षमा १ करोड ८ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा कार्यालयले १ करोड ९ लाख ३० हजार ३ सय ८ रुपैयाँ राजश्व रकम संकलन गर्न सफल भएको हो । सो रकम कार्यालयको लक्ष्य भन्दा ५० हजार ३ सय रुपैयाँ बढी हो । नगरपालिकाको ९ वटै वडावाट विभिन्न शिर्षकमा जम्मा गरिएको रकमवाट उक्त रकम संकलन गर्न सफल भएको रामेछाप नगरपालिका राजश्व, उद्योग तथा सहकारी शाखा प्रमुख हरिभगत श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार नगरका ९ वटा वडाहरु मध्ये सबैभन्दा बढी राजश्व संकलन गर्ने ७ नं वडा सुकाजोर परेको छ भने सबैभन्दा कम राजश्व संकलन गर्ने वडा नं ९ रामेछाप रहेको छ । सुकाजोर वडा कार्यालयले एकवर्षमा ६ लाख ६१ हजर २ सय ३ रुपैयाँ राजश्व रकम संकलन गर्दा रामेछाप वडा कार्यालयले भने २ लाख ८५ हजार ६ सय ७१ रुपैयाँ राजश्व रकम संकलन गरेको हो ।
त्यसैगरी वडा नं १ गोठगाउँले २ लाख ९१ हजार ४ सय ७१ रुपैयाँ, वडा नं २ देउरालीले ४ लाख २५ हजार ५ सय ९२ रुपैयाँ, वडा नं ३ साँघुटारले ४ लाख ४१ हजार ६ सय ९ रुपैयाँ, वडा नं ४ हिमगंगाले ४ लाख ३६ हजार २ सय ६६ रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तै वडा नं ५ रामपुरले ३ लाख ३२ हजार १ सय ६८ रुपैयाँ राजश्व रकम संकलन गरेको जनाएको छ ।
यसैगरी वडा नं ६ ओख्रेनीले ३ लाख ११ हजार १ सय ८५ रुपैयाँ र वडा नं ८ रामेछापले ३ लाख २४ हजार ३ सय ६२ रुपैयाँ राजश्व संकलन गरेको हो । त्यस्तै रामेछाप नगरपालिका कार्यालयले पनि दैनिक विभिन्न शिर्षकमा ७४ लाख २० हजार ७ सय ८० रुपैँया राजश्व रकम उठाउन सफल भएको रामेछाप नगरपालिकाले जनाएको छ ।