लम्पी स्किन रोगले चौरी सखाप, किसान मारमा

रामेछाप । लम्पी स्किन रोगले दोरम्वा शैलुङ्ग गाउँपालिका–१ डडुवाका किसानले पालेका चौरी भटाभट मर्न थालेपछि किसानहरु मारमा परेका छन् ।

जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिकाको तल्लो तटिय क्षेत्रमा फैलिएको लम्पी स्किन रोग अहिले उच्च हिमाली क्षेत्रमा समेत फैलिएको छ । लम्पी स्किन रोगवाट शैलुङ्ग क्षेत्रमा पालिका ४२ वटा चौरी मरिसकेका छन् । डडुवाको गौश्वाराको जङ्गलमा रहेका अधिकासं चौरी गोठमा रहेका चौरीमा लम्पी स्किन रोग देखा परेको छ ।

चौरीको दूध उत्पादनको मुख्य समयमा अकस्मात चौरीमा देखा परेको लम्पी स्किन रोगले गर्दा चौरी मर्नु र चौरीको दूध उत्पादनमा गिरावाट आएसँगै किसानहरु मारमा परेका हुन् । चौरी रोगका कारण भटाभन मर्न थाल्दा पनि किसानहरुले गाउँपालिकासँग औषधी र प्राविधिक कर्मचारीको माग गर्दा औषधी नभएको भन्दै गाउँपालिका पन्छिदै आएको किसानहरुले गुनासो गरेका छन् । अहिले डडुवाको शैलुङ्ग क्षेत्रमा १५ वटा गोठमा ५ सय भन्दा बढी चौरीहरु रहेका छन् ।

शैलुङ्ग क्षेत्रमा रहेका चौरी गोठमा लम्पी स्किन रोगले गर्दा ४२ वटा पशु मरिसकेका र अन्य धेरैमा यो रोग देखा परेको दोरम्वा शैलुङ्ग गाउँपालिकाका पशु स्वास्थ्य प्राविधिक राजेन्द्र ढुंगेलले जानकारी दिए । उनले भने– गाउँपालिकाले गएको आर्थिक वर्षमा १ हजार डोज औषधी खरिद गरी पशुहरुमा लगाइएको र अहिले पालिकामा औषधी नहुँदा समस्या रहेको छ । हामीले साउन २५ गतेदेखी ३१ गतेसम्म बागमती प्रदेश सरकारको लम्पी स्किन रोग विरुद्ध सप्ताह व्यापी खोप लगाउने अभियानका लागि गाउँपालिका भित्रका पशु वस्तुको तथ्याङ्क संकलन गर्ने काम भइरहेको बताए ।

रामेछापका ८ वटा स्थानिय तहमा गरी लम्पी स्किन रोगवाट २४ हजार पशु विरामी परेका छन् । पशु संक्रमित हुने संख्या बढ्दै जाँदा जिल्लामा औषधीको समस्या रहेको पशु प्राविधिकहरु बताउँदै आएका छन् ।

Scroll to Top