जिल्ला समन्वय सदस्यको पसलवाट म्याद गुज्रेका सामाग्री जफत

रामेछाप । जिल्ला समन्वय समितिकी सदस्य अनिषा माझीको पसलबाट मन्थली नगरपालिकाको अनुगमन समितिले ठूलो परिमाणमा म्याद गुज्रेका अखाद्य वस्तु जफत गरेको छ ।

मन्थली नगरपालिकाकी उप–प्रमुख ईश्वरी वस्नेतको नेतृत्वमा निस्कीएको वजार अनुगमन टोलीले म्याद गुज्रेको पेप्सी, हर्लिक्स, रामेछाप विस्कुट, गोल्डेन कुकिज, जिरा कुकिज, एप्लेक्स र स्टिल नामको खाद्यपदार्थ समेत जफत गरेको छ । पसल अनुगमनको क्रममा जिल्ला समन्वयकी सदस्य माझी आफै पसलमा बसेर सामान विक्रीवितरण गर्दै आएकी थिइन ।

अनुगमन टोलीले मन्थली नगरपालिका–६ भलुवाजोरको वेतीनी, सिल्ली बजार,त्रिवेणी पुल,हात्तिटार, भलुवाखोला, कुनाउरी भैश्वेश्वर चोकका बजार केन्द्रका समेत करिब २ दर्जन पसल तथा होटेलको अनुगमन गरेको मन्थली नगरपालिका राजस्व शाखा प्रमुख उज्ज्वल पोखरेलले जानकारी दिए ।

नेपाल सरकार र स्थानीय सरकारले तय गरेको कार्यविधिका आधारमा गरिएको अनुगमनका क्रममा अधिकासं पसल तथा होटलहरुमा कमीकमजोरीहरु भेटिएको थियो । अकस्मात अनुगमनको टोली पसलमा पुगेपछि व्यवसायीहरुले आफुहरुले गरेको गल्ती अब आइन्द नदोहोर्याउने प्रतिवद्धता जाहेर गरेका थिए । व्यवसायीहरुले गरेको प्रतिवद्धता अनुसार अनुगमन टोलीले जरिवाना नगरी फर्किएको हो । त्यस्तै व्यवसाय दर्ता नै नगरी संचालन गरेका पसल तथा होटलको हकमा भने अनुगमन समितिले एकहप्ता भित्र आफ्नो पसल दर्ता गर्न समयसिमा दिएको छ ।

स्थानिय तहले वजार अनुगमन नगर्दा अधिकासं उपभोक्ताहरु ठगिएको भन्दै स्थानिय स्तरवाट आवाज उठेपछि मन्थली नगरपालिकाले अनुगमनलाई तिव्रता दिएको हो । अनुगमन टोलीले मन्थली नगरपालिकाको मिल्ती, देवीटार, सालु, सुनारपानी लगाएतको क्षेत्रमा समेत अनुगमन गरिसकेको छ । अनुगमनको क्रममा अधिकासं व्यवसायीहरुले म्याद गुज्रेका सामाग्रीहरु विक्रीवितरणको लागि पसलमा राखेको, धेरैजसो पसल तथा होटलहरु दर्ता विना नै संचालन गर्दै आएको भेटिएको थियो ।

Scroll to Top