रामेछाप उद्योग बाणिज्य संघले गर्यो सदस्यको दुर्घटना बिमा

रामेछाप । रामेछाप उद्योग बाणिज्य संघले आफ्ना सदस्यहरुको दुर्घटना भएमा १ लाख रुपैयाँ प्रदान गर्ने गरी दुर्घटना विमा गरेको छ ।

बाणिज्य संघले संस्थामा आवद्ध आजीवन, एसोसिएटसहित १ हजार ३ सय ८३ सदस्यहरुको प्रभु इन्स्योरेन्स लिमिटेड कम्पनीमा दुर्घटना बिमा गराइएको छ । उक्त विमाको सवै खर्च बाणिज्य सङ्घले व्यहोर्ने गरि बिमा गरिएको संघका कार्यकारी अधिकृत नवीन केसीले जानकारी दिए ।

उनका अनुसार यही भदौ १५ गते भएको सम्झौतामा रामेछाप उद्योग वाणिज्य सङ्घको तर्फबाट सङ्घका अध्यक्ष नवीनकुमार थापा मगर र प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट मन्थली उपशाखा प्रमुख राम सुनचिउरीले हस्ताक्षर गरेका हुन् ।

दुर्घटनाको प्रत्यक्ष कारणबाट दुर्घटना भएको १ सय ८३ दिनभित्र बिमितको मृत्यु भएमा मृतकको परिवारले सतप्रतिशत बिमा रकम पाउने सम्झौतामा उल्लेख छ । बिमितको दुर्घटना भएको खण्डमा पार्थिव शरीरको परिवहन तथा व्यवस्थापन गर्न १० हजार रुपैयाँ प्रदान गर्ने र यस दफा प्रयोजनको लागि बिमकले कुनै बिल भर्पाइ माग नगर्ने समेत उल्लेख छ ।

दुई पक्ष बिच भएको सम्झौता पत्रको परिच्छेद–२ को ५ नम्बरमा काजकिरिया अन्तर्गत दुर्घटनामा बिमितको मृत्यु भएमा बिमाङ्कको अतिरिक्त थप हुनेगरी बिमाङ्कको १० प्रतिशत वा ५० हजार रुपैयाँमध्ये जुन कम हुन्छ सोही बराबरको रकम प्रदान गर्ने र यस दफा प्रयोजनको लागि पनि बिमकले कुनै बिल भर्पाइ पेश गर्नुनपर्ने उल्लेख छ ।

त्यस्तै दुर्घटनाका कारणले दुर्घटनाको ६५ दिनभित्र बिमित पूर्ण अशक्त भएमा दुर्घटनाको प्रकृति हेरी सतप्रतिशत वा ५० प्रतिशत बिमा भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ । स्पाइनल इन्जुरीका कारण पुनः ठिक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, कुनै एउटा हातको नाडीदेखि माथि पूरै हात काम नलाग्ने भएमा, कुनै एउटा खुट्टाको गोलीगाँठोदेखि माथि पूरै भाग काम नलाग्ने भएमा, दुबै आँखा पुनः दृष्टि नर्फकने गरी काम नलाग्ने भएमा, श्रवण शक्ति नफर्कने गरी दुबै कान नसुन्ने भएमा र बोली नर्फने गरी बोल्न नसक्ने भएमा बिमाको सतप्रतिशत भुक्तानी हुनेछ ।

त्यस्तै एउटा आँखा पुनः दृष्टि नर्फकने गरी काम नलाग्ने भएमा र एउटा कान नसुन्ने भएमा बिमा कम्पनीले बिमाको ५० प्रतिशत रकम भुक्तानी गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

Scroll to Top