पूर्वी जिल्ला जोड्दै पूर्व अरनीको यातायात

रामेछाप । बिगत वर्षहरुदेखी कच्ची धुले सडक पुगेका जिल्लाका कुनाकाप्चाहरुमा यातायातका साधनहरु संञ्चालन गरेर नागरिकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको पूर्व अरनीको यातायात सेवा समितिले पछिल्लो समय पूर्वी जिल्लाको विकट गाउँहरुमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

उक्त समितिले रामेछापको उत्तरी क्षेत्रमा पर्ने दुर्गम उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा समेत आजवाट नियमित रुपमा यातायातका सञ्चालनमा ल्याएको छ । त्यस्तै सो समितिले रामेछाप नगरपालिका–८ रामेछाप बजारबाट रामेछाप नगरपालिका–१ गोठगाउँ हुँदै छिमेकी जिल्ला ओखलढुङ्गाका विकट गाउँहरुमा समेत थप सेवा विस्तार गरेको हो ।

रामेछापका २ नगरपालिका र ६ वटै गाउँपालिकाको केन्द्रसम्म बाह्रै महिनासम्म नियमित यातायातका साधनहरु संञ्चालन हुने भएता पनि ती सवै स्थानिय तहका सवै वडाहरुमा नियमित रुपमा हिउँद र वर्षातको समयमा यातायातका साधनहरु संञ्चालन हुन सक्दैनन् । उच्च लेकाली भु–भागमा वर्षातको समयमा वढी वर्षात हुने हुँदा खनिएका कच्ची सडक जर्जर अवस्थामा पुग्ने गरेका छन् । सडक अस्तव्यस्तकै कारण लेकाली भुभागका नागरिकहरुले यातायातका साधनको उपभोग गर्न हैरानी खेप्न वाध्य हुँदै आएको उमाकुण्ड गाउँपालिका–१ गुम्देलका रामचन्द्र विकले जानकारी दिए ।

उनले भने– पालिकाले हिउँदको समयमा सडक सफा त गर्छ । तर वर्षातमा आएको पानीले सडक सवै छियाछिया पारिदिदा उक्त सडकमा वर्षातको समयमा नियमित यातायातका साधनहरु संचालन गर्न मुस्किल छ । स्थानिय सरकार, प्रदेश र संघीय सरकारले वडा तहसम्म पुग्ने सडकहरु बाह्रै महिना संञ्चालन हुने गरी वजेट व्यवस्थापन गरिदिए नागरिकले राहात मिल्ने पनि विकले बताए ।

धेरै वर्ष पहिले गाउँमा कच्ची धुले सडक निमार्ण भएता पनि यातायातका साधनहरु संञ्चालन हुन नसक्दा नागरिकले पैदल नै हिड्नु पर्ने वाध्यता थियो । तर अहिले हिउँदको समयमा पूर्व अरनीको यातायात सेवा समितिले यात्रु वाहक बस सञ्चालन गरिदिएपछि जेष्ठ नागरिक, गर्ववती महिला, शारिरीक रुपमा अशक्त र बालबालिकालाई धेरै राहात मिलेको उमाकुण्ड गाउँपालिका–५ प्रितीमा झपडवहादुर भण्डारीले जानकारी दिए ।

ग्रामिण भेगमा सडक निमार्ण भएता पनि कुनै पनि यातायात कम्पनीहरुले उक्त सडकहरुमा यातायातका साधनहरु सञ्चालन नगरेपछि पूर्व अरनीको यातायात सेवा समितिले नागरिकहरुको मागको आधारमा यात्रु बाहक बस सञ्चालनमा ल्याएको पूर्व अरनी यातायात सेवा समितिका रामेछाप इन्चार्ज सुबाश फुयाँलले जानकारी दिए ।

उनका अनुसार नियमित वस सञ्चालनको लागि पूर्व अरनी यातायात सेवा समिति केन्द्रिय कार्यालयवाट रुट निर्धारण भइसकेको छ । यदी कुनै चालकले समितिले दिएको रुट विपरित यातायात सञ्चालन गरेको भेटिएमा प्रति दिन १० हजारको दरले प्रति बसलाई जरिवाना लिने समेत निर्णय सो समितिले गरेको छ ।

Scroll to Top