भ्रष्टाचार मुद्धा लागेको वडा सचिवलाई मन्थली नगरले गर्यो निलम्वन

रामेछाप । मन्थली नगरपालिकाले तत्कालीन वडा नं ३ मा कार्यरत वडा सचिव शिबकुमार महतोलाई निलम्वन गरेको छ । हाल उनी मन्थली नगरपालिका–१२ गेलुमा कार्यरत रहेका थिए ।

सचिव महतोले आर्थिक लेनदेनमा श्रीमान् जिवीतै छदा मृत्यु दर्ताको प्रमाणपत्र बनाएर (एकल महिला) सामाजिक सुरक्षा भत्ता खुवाएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि अख्तियारले छानविन गरेको थियो । छानविनको क्रममा सचिव महतो दोषी ठहर भएपछि उनलाई आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।

सचिव विरुद्ध अख्तियारले मुद्धा दर्ता गरेको पत्र मन्थली नगरपालिकाको कार्यालयमा आइतवार प्राप्त भएपछि सोही दिनवाट सचिव महतोलाई निलम्वन गरिएको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी दिए । उनले भने– अव महतोको मुद्धा टुङ्खो नलागेसम्म तलव भत्ता केही पाउँदैनन् ।

श्रीमान् जिवीतै रहदा रहदै झुटो विवरण पेश गरी सचिव महतोले निर्मला खत्रीको श्रीमान्को मृत्यु भइसकेको भन्दै मृत्यु दर्ताको प्रमाण पत्र बनाइदिएर एकल महिला सामाजिक सुरक्षा भत्ता खुवाउँदै आएका थिए । अख्तियार उजुरी परेपछि सो बिषयमा छानविन गर्दा जीवित व्यक्तिको नाममा झुटा विवरण तयार पारेर ४५ हजार २ सय २० रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिई सरकारी सम्पतीको हानी नोक्सानी गरेको उल्लेख गर्दै सोही रकम बराबरको बिगो माग दावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिन अघि मुद्धा दर्ता गरेको थियो ।

Scroll to Top