
रामेछाप । परम्परागत सिपलाई आधुनिकीकरण तरिकाले संचालन गर्न सहज होस् भन्ने हेतुले मन्थली नगरपालिका–१ वडा कार्यालयले पशुपालक किसान र साना घरेलु उद्योग संञ्चालन गर्दै आएकाहरुलाई प्रोत्साहन स्वरुप सामाग्रीहरु हस्तान्रण गरेको छ ।

मगंलवार वडा कार्यालयमा आयोजना गरिएको सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपाकिलाका प्रमुख लव श्रेष्ठ र वडा अध्यक्ष होमप्रसाद पौडेल (रामहरी)ले सयुंक्त रुपमा किसानहरुलाई सामाग्रीहरु हस्तान्तरण गरेका थिए । चालु आर्थिक वर्षमा वडा कार्यालयमा प्राप्त २ लाख वजेटबाट आफ्नो वडाभित्र पशु फर्म दर्ता गरि दुध उत्पादन र विक्री गर्दै आएका ५८ जना किसानहरुलाई २० लिटर दुधको ग्यालिन बोक्न मिल्ने झोला हस्तान्तरण गरेको छ ।


त्यस्तै वडा कार्यालयले वडा भित्र परम्परा देखी नै आरन पेशा बाट आफ्नो गुजारा चलाउँदै आएका ३ जना शिल्पी समुदायलाई अत्याधुनिक किसिमको आरन पनि हस्तान्रण गरेको छ । त्यसैगरी ग्रिल उद्योगको रुपमा काम गर्दै आएका एक व्यक्तिलाई अत्याधुनिक वल्डिङ्ग मेसिन पनि प्रदान गरिएको छ । यसअघि पनि मन्थली–१ वडा कार्यालयले किसान र परम्परागत पेशालाई संरक्षण गरी संचालन गर्दै आएका व्यक्तिहरुलाई पनि विभिन्न सहयोगहरु उपलव्ध गराउँदै आएको थियो ।
वडा कार्यालयले वास्तविक किसान र परम्परागत सिपलाई सदुपयोग गर्दै आफ्नो दैनिक रोजगारी मानि काम गर्दै आएका व्यक्तिहरु छनौट गरी अहिलेको अत्याधुनिक सामाग्रीहरु हस्तान्रण गरेकोमा आफुहरुलाई अत्यन्तै खुशि लागेको अगुवा कृषक डुकुना घिरिले बताइन । उनले भनिन्– हामी वडा कार्यालयका अहिलेका जनप्रतिनिधिले गरेको कामबाट अत्यन्त खुशी छौं । वडा अध्यक्षले साना साना घरेलु उद्योग गर्दै आएका देखी किसानहरुलाई सम्वोधन हुने किसिमको कार्यक्रम ल्याउनु भएको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नविन थापामगर, वडा सचिव शेषराज पौडेल र संञ्चारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।