रामेछाप बृहत महोत्सवको तयारी पुरा

रामेछाप । रामेछाप उद्योग बाणिज्य संघको आयोजनामा बिहिबार देखी शुरु भई माघ ७ गतेसम्म हुने रामेछाप बृहत महोत्सवको तयारी पुरा भएको जनाएको छ । उक्त महोत्सवको उद्घाटन बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिगराम जमरकट्टेलले गर्ने भएका छन् ।

संघले जिल्ला समन्वय समितिको प्राङणमा गर्न लागेको महोत्सवको लागि आवश्यक स्टल निमार्ण, बजार क्षेत्रका बिभिन्न स्थानमा स्वागत गेट निमार्ण गर्नेदेखी स्वागत व्यानर र बजार क्षेत्रभरी टाँगिएका तोरणले मन्थली वजार नै बेहुली सिंगारिए झैं सिँगारिएको छ । आयोजक संस्थाले महोत्सव सम्पन्न गर्न करिव ७० लाख रुपैयाँ रकम लाग्ने अनुमानित खर्च निकालेको रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नवीनकुमार थापामगरले जानकारी दिए ।

“रामेछापको दिगो विकास र अर्थतन्त्रको आधार‘ कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार” भन्ने मूल नाराका साथ गर्न लागिएको महोत्सवमा जिल्लाका सबै स्थानीय निकायमा उत्पादन भएका मुख्य कृषिवालीको बजारीकरण र आन्तरिक तथा बाह्य क्षेत्रका पर्यटकहरूलाई समेत महोत्सवमा आउने वातावरण निर्माणका लागि पनि काम भइरहेको संघका सचिव यज्ञप्रसाद सुबेदीले जानकारी दिए ।

एघार दिनसम्म चल्ने उक्त महोत्सवका लागि बाह्य र आन्तरिक गरी ५० हजार दर्शक भित्रयाउने लक्ष्य उक्त संघले लिएको छ । जिल्लाको पहिचानका रूपमा रहेका उत्पादनहरू आलु, जुनार,सुन्तला, किवी, र ढाकाको कपडा र अन्उ उत्पादित कृषि उपज वस्तुहरुको वजारीकरणको लागि थप टेवा पुग्ने र आर्थिक मन्दी र व्यवसायमा आएको गिरावटले सुस्ताएको मन्थली बजार चलायमान हुने अपेक्षा संस्थाका पदाधिकारीहरुले लिएका छन् ।

महोत्वसवको अवसरमा संस्थाले जिल्ला तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुती समेत राखेको छ । आयोजकले महोत्सव स्थलमा रोगटे पीङ, बाल उद्यान पार्क लगायत विभिन्न मनोरञ्जनको सामाग्री समेत राखेको छ । उद्योग बाणिज्य संघले आयोजना गरेको रामेछाप बृहत महोत्सव सफल पार्न जिल्ला स्थित सबै राजनितिक दल, सञ्चारकर्मी, स्थानिय निकाय, नागरिक समाज, सरकारी तथा गैरसरकारी कार्यालय, सामाजिक संघसंस्था, स्थानिय नागरिक सबैले साथ र सहयोग गर्नुपर्ने रामेछाप उद्योग बाणिज्यसंघका महासचिव कुमार श्रेष्ठले जानकारी दिए ।

Scroll to Top