
रामेछाप । रामेछापको तामाकोशी र सुनकोशी नदीमा स्थानिय तहका जनप्रतिनिधि र स्थानिय प्रशासनको सेटिङमै अवैद्य तरीकाले नदी उत्खनन् गर्ने काम गरिदै आएको छ ।

जिल्ला प्रशासन र प्रहरी कार्यालयको भवनवाट करिव ७ सय मिटर मुनी तामाकोशी नदीमा कानुन विपरित ठूलाठूला डोजर लगाई नदीको धार नै परिर्वतन गरी दिन रात नदी उत्खनन गर्दा समेत स्थानिय प्रशासनका कर्मचारीहरु थाहा नै नपाए झैं बस्दै आएका छन् । मन्थली नगरपालिका–१ मन्थली घाटमा रहेको झोलुुङे पुल र आसपासको बस्ती नै जोखिममा पर्ने गरी नदी उत्खनन गर्दा समेत स्थानिय प्रशासन रमिते बनेर बस्दै आएको छ ।

कानुन विपरित दैनिक रुपमा ठूला स्काईभेटर डोजर नदीमा हालेर नदीको धार नै परिर्वतन गरी नदीको पानी नै सुक्ने गरी नदी उत्खनन गरेर वालुवा र रोडा निकालेर क्रसर व्यवसायीले लैजाने गरेका छन् । मन्थली–१ को सुकाजोर खोलामा रहेको मन्थली रोडा ढुुङ्गा उद्योगका संचालकहरुले स्थानिय तहका जनप्रतिनिधि र प्रशासनलाई समेत प्रभावमा पारेर नदी उत्खनन गर्ने काम गर्दै आएको मन्थली नगरपालिका–१ का राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने– क्रसर व्यवसायीले मन्थली नगरपालिकाले तोकेको सिमा भन्दा वाहिर गएर नदी उत्खनन गर्ने र नदीको धार नै परिर्वतन गरेर उत्खनन गर्दा समेत स्थानिय प्रशासनले कुनै चासो देखाको छैन् । क्रसर उद्योगले नदीमा मनलाग्दी तरीकाले उत्खनन गरेको भन्दै स्थानिय बासिन्दाले निवेदन दिदा समेत कानुन विपरित काम गर्नेलाई दण्डित गर्नु त परै जावोस् प्रशासनले अहिलेसम्म स्थगलत अनुुगमन समेत नगरेको आरोप श्रेष्ठले लगाए ।

यसैगरी खाँडादेवी गाउँपालिका–४ कुनौरीमा पनि तामाकोशी नदी उत्खनन गर्ने कामलाई व्यवसायीले तिव्रता दिएका छन् । खाँडादेवी गाउँपालिकाले चालु आर्थिक वर्षमा टेण्डर आव्हान द्धारा नदीजन्य पदार्थको ठेक्का लगाएको थियो । कुल ५९ लाखमा त्रिवेणी निमार्ण सेवालाई ठेक्का लगाएको गाउँपालिकाले अहिलेसम्म नदी उत्खनन भएको ठाउँको अनुुगमन समेत गरेको छैन् । पालिकासँग ठेक्का सम्झौता गरेका निमार्ण व्यवसायीले खाँडादेवी गाउँपालिका–४ का हरिवहादुर माझीलाई नदी उत्खनन गर्ने कामको जिम्मा दिएका छन् ।
निमार्ण व्यवसायीले गाउँपालिका सँग भएको सम्झौता विपरित अहिले रजगाउँको जोर चौतारो नजिकै कानुनलाई धज्जी उडाउँदै निमार्ण व्यवसायीले ठूलाठूला खाडल बनाएर वालुवा रोडा उत्खनन गर्दै आएका छन् । उत्खनन गरेको स्थानमा अहिले २ वटा ठूला डोजर, २ वटा साना डोजर र वालुवा चाल्ने मेसिन समेत नदीमा राखेर नदीजन्य पदार्थ उत्खनन गरी दिनरात लाखौं मूल्य बराबरको सामाग्री विक्रीवितरण गरिदै आएको छ ।
गाउँपालिकाका जनप्रतिनिधि समेतको मिलेमतोमा नदी उत्खनन भएको खाँडादेवी गाउँपालिका–४ का जयनारायण मानन्धर बताउँछन् । उनले भने– गएको मंसिर महिनादेखी नै डोजरले वालुवा उत्खनन गर्ने र टिपरले वालुवा बोक्ने काम गर्दै आएका छन् । दिनमा भन्दा रातभरी सयौ टिपरले वालुवा वोक्ने गरेका छन् । रातको समयमा घरमुनीको सडकवाट सयौ टिपर गुड्दा राम्रोसँग सुत्न समेत नपाएको मानन्धर बताउँछन् ।
ठेक्का सम्झौता पछि अहिलेसम्म अनुुगमनमा नभएको खाँडादेवी गाउँपलिकाका अध्यक्ष ज्ञानकुुमार श्रेष्ठले जानकारी दिए । उनले भने– नदी उत्खनन गरेको बिषयमा अहिलेसम्म हामीकहाँ गुुनासो आएको छैन् । व्यवसायीले वातावरणमा प्रभाव पार्ने गरी काम गर्न पाइदैन् । तत्काल अनुुगमन गछौं ।
कानुन विपरित नदी उत्खनन गरेको बिषयमा स्थानियवाट उजुरी आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिए । उनले भने– हामीले आफ्नै ढंगवाट अनुुगमन गरेका छौं । हिजो मात्रै डोजर, टिपर सहित चालकलाई पक्राउ गरी कारवाहीको दायरामा ल्याएका छौं । प्रशासन र स्थानिय तहसँग समन्वय गरेर अनुुगमन गर्ने र कानुन विपरित काम गर्नेलाई कारवाही गर्ने पनि प्रहरी नायव उपरीक्षक सिंहले बताए ।
नदीजन्य पदार्थको अनुुगमन गर्न जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा अनुुगमन समिति रहेको छ । तर उक्त समितिले काम गर्न सकेको छैन् । त्यस्तै स्थानिय तहका उपप्रमुखको संयोजकत्वमा राजश्व परामर्श समिति समेत गठन भएको छ । उक्त समितिलाई समेत व्यवसायीले आर्थिक प्रलोभन देखाएर नदी उत्खनन गर्दै आएका छन् ।
नदीको धार परिर्वतन गर्ने, कानुन भन्दा बाहिर गएर नदी दोहन गर्ने, वस्ती र झोलुुङ्गे पुुललाई जोखिममा पार्ने गरी उत्खनन गर्ने कामलाई तत्काल रोक्नुपर्ने जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेमसागर थापाले जानकारी दिए । उनले भने– अहिले जिल्ला समन्वयले अनुुगमन गरेको छैन् । तत्काल अनुुगमन गरेर कानुन विपरित नदी उत्खनन गर्नेलाई कारवाही गर्ने बताए ।