रामेछाप । पुष्पलाल राजमार्ग अन्तर्गत सदरमुकाम मन्थली स्थित देवकोटा चोक सडक खण्डमा गरिएको कालोपत्रे पन्ध्र दिन नबित्दै उक्किएको छ ।
हिउँदको समयमा काम नगरी निमार्ण व्यवसायीले असारको मध्यमा आएर हिलो माटो माथी नै सडक कालोपत्रे गरेपछि उक्त सडक पकपकी उक्किएको हो । कालोपत्रे गरेको सडक धेरै स्थानमा भासिएको छ भने केही ठाउँमा सवारीसाधन नगुड्दै खाल्टा परेका छन् । सदरमुकाम मन्थली वजारको व्यस्त सडकमा निमार्ण व्यवसायीले गरेको कालोपत्रेको बिषयमा स्थानिय आक्रोसित बनेका छन् ।
सडक डिभिजन कार्यालय खुर्कोटले १ करोड ४ लाखमा टेण्डर आव्हान गरेको उक्त सडको काम गर्ने जिम्मा सिन्धुलीको गोलन्जोर कन्ट्रक्शनले ६४ लाख रुपैयाँमा २०८१ जेठ ३२ गते सम्पन्न गर्ने गरी २०८० कार्तिक महिनामा योजना सम्झौता गरेको थियो । सडक डिभिजन कार्यालयसँग सम्झौता गरे अनुसार निमार्ण व्यवसायीले काम सम्पन्न नगरेपछि उक्त सडकको म्याद २०८१ असार ३२ गतेसम्म थप गरिएको हो ।
हतार हतार काम सम्पन्न गरेर भुक्तानी लिने दाउमा रहेका निमार्ण व्यवसायीले स्थानियको आँखामा छारो हाल्दै कमसल गुणस्तरहिन सामाग्री प्रयोग गरेर सडकमा वेस नै नहाली कालोपत्रे गर्दा सडकको पिच उक्किएको रामेछापका नागरिक अगुवा हिमाल ढुगेलले जानकारी दिए । उनले भने– कार्यालयले टेण्डर आव्हान गर्दा कम मूल्यमा काम गर्नसक्छु भनेर सम्झौता गर्ने तर काम गर्दा सम्झौता अनुसारको सामाग्री प्रयोग नै नगर्ने यस्ता बदमास निमार्ण व्यवसायीको इजाजत पत्र नै खारेज गर्नेसम्मको काम राज्यले गर्नुपर्ने बताए ।
सदरमुकाम मन्थली स्थित तामाकोशी अस्पताल देखी देवकोटा चोक, आकाशे क्षेत्र, र खिम्ती लगाएतका स्थानमा गरिएको कालोपत्रे ठाउँठाउँमा भासिएको छ भने धेरै ठाउँमा उक्किएको छ । सडकमा सानासाना गाडीहरु गुड्दा सडक भासिन थालेपछि गाडी चालकले सडकमा गरिएको कालोपत्रे उक्काएका थिए । उक्त घटनाका सम्वन्धमा सडक डिभिजन कार्यालय खुर्कोटमा स्थानियले जानकारी गराएपछि सो कार्यालयवाट सडक अनुगमन गर्न आएका इन्जिनियर सन्देशराज ढुंगेलले सडक कालोपत्रे गर्दा निमार्ण व्यवसायीले गुणस्तरहिन सामाग्री प्रयोग गरेको पाइएकाले तत्काल सुधार गर्न लगाउने बताए ।
उक्किएको र भासिएको सडकको सबै स्थानको सडकको कालोपत्रे निकालेर पुनः सडक कालोपत्रे नगरे निमार्ण व्यवसायी र सडक डिभिजन कार्यालयको विरोधमा सदरमुकाम मन्थलीका सवै स्थानिय आन्दोलनमा उत्रने मन्थली नगरपालिका–१ देवकोटा टोल सुधार समितिका अध्यक्ष सुरेश उदासले जानकारी दिए । उनले भने– निमार्ण व्यवसायी र कार्यालयका कर्मचारीको मिलेमतोमा कमसल सामाग्री प्रयोग गरी सडक कालोपत्रे गरेको प्रष्टै देखिन्छ । सदरमुकाम जस्तो ठाउँमा त यस्तो कालोपत्रे गरिएको छ भने अन्यत्र कस्तो होला ? उदासले प्रतिप्रश्न गरे ।