पहिरोका कारण चार घरपरिवार विस्थापित,दुई घर जोखिममा

रामेछाप । लगातारको वर्षाका कारण घर माथिवाट गएको पहिरोका कारण रामेछापमा चार घर परिवार विस्थापित भएका छन् ।

अविरल वर्षाका कारण लिखुतामाकोशी गाउँपालिका–५ नागदह स्थित भालु खोपमा चार घर परिवार विस्थापित भएका हुन् । विस्थापित हुनेहरुमा मेखवहादुर बुढाथोकी, गङ्गामाया बुढाथोकी, बाबुराम बुढाथोकी र धुम्म माया बुढाथोकीको घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घरमा पहिरोले क्षती पुर्याएपछि ती घरमा वसोवास गर्दै आएका चार घर परिवारका १२ जनालाई स्थानीयको सहयोगमा सोही स्थानमा रहेका मालिका आधारभूत विद्यालयमा बस्ने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

त्यस्तै अविरल वर्षाका कारण लिखुतामाकोशी गाउँपालिका–५ नागदह स्थित भालु खोपकै मानबहादुर बुढाथोकीको घर पनि जोखिममा रहेको छ । पहिरोले घर नजिकै रहेको गोठ पुरिदा एउटा भैँसी मरेको छ । त्यसैगरी बुधवार रातिको वर्षाले मन्थली नगरपालिका–२ बिरौटै स्थित कठजोर खोलामा आएको वाढीले जमिन कटान गर्दा स्थानीय एक बहादुर भुजेलको घर पनि जोखिममा रहेको प्रहरीले जनाएको छ ।

Scroll to Top