
रामेछाप । पछिल्ला केही बर्षयता देखी रामेछापका अधिकासं खेती योग्य जमिन बाँझीने क्रम बढ्दै गएको छ ।

जनशक्ति अभावकै कारण जिल्लाका खेती योग्य जमिनहरु बाँझीने क्रम बढदै गएको हो । सरकारले स्वदेशमा रहेका युवायुवतीहरुलाई रोजगारको भरपर्दो व्यवस्थापन गर्न नसक्दा नेपालका युवायुवती रोजगारीको लागि खाडीमुलक जाने क्रमलाई रोक्न नसक्दा जिल्लाका अधिकासं ग्रामिण भेगमा रहेका खेती योग्य जमिनहरु बाझिने क्रम बढेको हो ।

गएको स्थानिय तहको निर्वाचनमा प्रायः सबै राजनितिक दलका उम्मेदवारहरुले विकास र रोजगारीलाई प्रमुख एजेण्डाको रुपमा अघि सारेर पार्टीको घोषणा पत्र तयार गरे । सबै पार्टीका उम्मेदवारहरुले बनाएको घोषणा–पत्र अनुसार निर्वाचित जनप्रतिनिधिहरुले युवायुवतीलाई रोजगारीको कुनै पनि कार्यक्रमहरु ल्याउन नसक्दा जिल्लाबाट युवाहरु युरोप, अमेरिका नपाए विभिन्न देशका खाडीमुलुकहरुमा रोजगारीको लागि जान बाध्य छन् ।
जिल्लावाट युवायुवती विदेशीने र शहर पलायन हुने क्रम बढ्दै जाँदा गाउँमा काम गर्ने जनशक्तिको अभाव भएर खेतीयोग्य जमिन बाँझै भएको हो । अहिले प्रायः जिल्लाभर नै हजारौं हेक्टर जमिन बाह्रै महिना सिंचाई गर्न मिल्ने र वर्षातको समयमा मात्रै खेती गर्न मिल्ने खेत तथा पाखो जमिन दुवै बाझै रहेको मन्थली नगरपालिका–११ का पुस्कर कार्की बताउँछन् ।
उनले भने– अहिले युवा जनशक्ति रोजगारीको लागि विदेशीने क्रम बढेसँगै गाउँघरमा प्रायः बृद्ध भएका बृद्धबृद्धा, महिला र बालबालिकाहरु मात्र हुँदा जग्गा जमिन बाँझै छाडेका छन् । रोजगारीको लागि वैदेशिक रोजगारीमा गएका वाहेक अन्य नेपालका विभिन्न कुनाकाप्चामा रोजगारीमा गएकाहरु नेपालीहरु महानचाडवाडमा घरमा जम्मा हुने गरेका छन् । उनीहरु दशैं, तिहार, छठ पर्व, महामारी, प्राकृतिक प्रकोप र विपत्ति र स्थानिय तह, प्रदेश र संघीय निर्वाचनको समयमा मत खसाल्न गाउँमा फर्कने गरे पनि काम सकिनासाथ गाउँ छाड्ने गरेको कार्की बताउँछन् ।
गाउँमा खेती योग्य जमिन प्रसस्तै भए पनि खेती गर्ने जनशक्ति नहुँदा मन्थली नगरपालिका, रामेछाप नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, उमाकुण्ड गाउँपालिका र दोरम्वा शैलुङ्ग गाउँपालिका लगाएतका ८ वटै स्थानिय तहमा खेती योग्य जमिन बाँझै छाड्ने पर्ने अवस्था रहेको छ । स्थानिय तहका निर्वाचित जनप्रतिधिनिधिहरुले स्थानिय स्तरमै युवालाई रोजगारी सिर्जना गर्न सके मात्र यो समस्याको समाधान हुन सक्ने मन्थली नगरपालिका–१ का सोमहरी सुवेदीले बताए ।