रामेछाप । सदरमुकाम मन्थलीमा प्रहरीले नै दिनभरी निगरानी गर्ने र रातको समयमा चोरी गर्दै हिडेको घटना सार्वजनिक भएको छ ।
प्रहरीले वजारमा पार्किङ्ग गरिराखेको मोटरसाइकलको नटवोल्ट लगाएतका पाजपूर्जा चोरी गरी अन्यत्र लगेर विक्रीवितरण गर्ने गरेका छन् । सडकको किनारमा पार्किङ्ग गरिराखेको मोटरसाइकलको पाटपूर्जाहरु रातको समयमा प्रहरीले नै झिक्दै गरेको प्रमाण सिसिक्यामेरामा देखिदा पनि ती प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुखले कारवाही गर्नुको सट्टा जोगाएर राखेको आरोप मन्थली नगरपालिका–१ का व्यवसायी नारायण बस्नेतले बताए ।
गत असार २० गते मन्थली नगरपालिका–१ तामाकोशी अस्पतालको गेट अगाडीबाटै मन्थली बचत तथा ऋण सहकारी संस्थाको बागमती प्रदेश ०२–०४५ प ५५७३ नम्वरको २२० सिसि पल्सर मोटरसाइकल चोरी भएको थियो । चोरी भएको लामो समय हुँदासम्म प्रहरीले उक्त घटनामा हराएको मोटरसाइकल र चोरीमा संलग्न व्यक्तिलाई सार्वजनिक गर्न सकेको छैन ।
त्यस्तै केही दिनअघि मात्र मन्थली वजारको रेडक्रस लाइनमा पार्किङ्ग गरिराखेको बा ७४ प ३१२ नम्वरको एफजेट मोटरसाइकलको ह्यान्डीलको दुुईवटा नट बोल्ट चोरी भएको छ । त्यसैगरी पार्किङ्ग गरिराखेको अर्को बागमती प्रदेश ०२–०४४ प ७५५० नम्वरको एफजेट भि–२ मोटरसाइकलको पनि ह्यान्डिल र दुुईवटा नल्टवोल्ट चोरी भएको छ । यो सवै चोरीका घटनामा जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी नै संलग्न रहेको आरोप बजारबासीहरुको रहेको छ । उनीहरुले सिसिक्यामेराको फुुटेज हेर्दा चोरीमा प्रहरी नै संलग्न रहेको देखिदा पनि प्रहरीले उक्त व्यक्ति सार्वजनिक गर्नुपर्नेमा घटना लुकाई राख्दा झन बजारमा त्रास सिर्जना भएको स्थानियहरु बताउँछन् ।
चोरीका घटना वढ्दै गएपछि सदरमुकाममा सुरक्षाको अनुभुती गर्न नै नपाइएको स्थानियहरुले आरोप लगाएका छन् । प्रहरीको सक्रियता कम देखिएपछि मन्थली वजारको मुख्य मुटु मानिने देवकोटा चोक आसपासका वस्तीहरुमा यसअघि पनि विहान, मध्य दिउँसो र रातीको समय पारेर घर चोरी हुँदै आएको छ ।
केही महिनाअघि मन्थली नगरपालीका वडा नं–१ देवकोटा चोक मुनी बिहानको समयमा रमा श्रेष्ठको घरको तीनतले पक्की घरको तीनतला माथीवाट जुत्ता, चप्पल लगाएतका सामाग्रीहरु चोरी भएको थियो । त्यसको दुई÷तीन दिन पनि बित्न नपाउँदा पुन त्यस क्षेत्रका चारवटा घरमा चोरी भएको छ । चोरले दिउँसो र रातीको समय पारेर कपडा, जुत्ता, मोवाइल, पैसा र सुन लगाएतका सामानहरु चोरी गर्दै आएको छ ।
देवकोटा चोक मुनी डेढ वर्षअघि पनि ७ वटा घरहरुमा चोरी भएको थियो । भाडामा बस्दै आएका तिलक हायुको कोठा समेत चोरी भयो । हायुको कोठावाट करिव ३ तोला सुन र लत्ता कपडा समेत करिव २ लाख वरावरको चोरी भएको थियो । हायुले कोठाबाट सामान चोरी भएको जानकारी पाउनासाथ उनले प्रहरीलाई खबर गरे र घटनामा संलग्नको खोजी गरिदिन निवेदन समेत दिए । तर निवेदनको सुनुवाई प्रहरीवाट हुन नसक्दा उनी दुःखीत बने ।
यसअघि पनि जिल्ला सदरमुकाम मन्थलीमा विभिन्न पसलहरुमा चोरी भएको थियो । पसल लगाएत विभिन्न व्यक्तिहरुको घर दैनिक रुपमा चोरी हुन थालेपछि स्थानियहरु त्रसित वनेका छन् । यसरी जिल्लाकै मुटु मानिने सदरमुकाममा दैनिक रुपमा चोरी हुँदासमेत प्रहरीले पत्ता लगाउन नसक्नु लाजमर्दो कुरा भएको स्थानियहरु बताउँछन् ।
चोरी डकैती लगाएतका घटना वढेको भन्दै केही समय अघि रामेछाप उद्योग वाणिज्य संघको पहलमा वजारका विभिन्न स्थानहरुमा सिसि क्यामरा जडान समेत गरिएको थियो । सिसि क्यामेरा जडान गरिएको भएता पनि प्रहरीले चोरी गर्ने व्यक्ति फेला पार्न नसक्दा सिसी क्यामेरा कुनै औचित्य नभएको स्थानिय नागरिकहरुको गुनासो रहेको छ ।
यता जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदीप कुमार सिंहले चोरीका घटना बढेसँगै वजारमा प्रहरी गस्ती बढाएको र आकाशे र मदनआश्रीत चोकमा प्रहरी परिचालन गरेको बताए । उनले बजारबाट हराएको मोटरसाइकलको खोजी कार्य जारी रहेको तर हालसम्म फेला पार्न नसकिएको भन्दै केहीदिनदेखी बजारमा पार्किङ्ग गरिराखेको मोटरसाइकलको पाटपूर्जा चोरीमा संलग्न आफ्नै प्रहरी रहेको देखिएकाले निजलाई विभागिय कार्वाहीको लागि लेखि पठाउने बताए ।