रामेछापमा ४९५ दशमलव ५ हेक्टर जमिन अतिक्रमण

रामेछाप । रामेछापको ८ स्थानिय तहमा गरी कुल ४९५ दशमलव ५ हेक्टर सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको छ ।

वन निर्देशनालय हेटौँडाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ सम्मको अद्यावधिक तथ्याङ्कमा रामेछापमा ४९५ दशमलव ५ हेक्टर सामुदायिक वन अतिक्रमण भएको जनाएको छ । जिल्लाका विभिन्न स्थानमा सार्वजनिक जमिन अतिक्रमण गरी घर तथा टहरा निमार्ण गरी बस्ती बसाल्दा समेत सम्वन्धित गाउँपालिका र डिभिजन वन कार्यालय रामेछापले रोक्ने चासो नदेखाउँदा सार्वजनिक जग्गा अतिक्रमण गर्नेको संख्या झन बढ्दै गएको हो ।

यसरी सार्वजनिक जग्गा अतिक्रमण रामेछापको उमाकुण्ड गाउँपालिका–२ बाम्तीको रत्नज्योति बजार, उमाकुुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिका–२ ठोसेको सीमामा पर्ने सिङगटी बजारमा बर्षौदेखी सार्वजनिक जग्गा अतिक्रमण गरी बस्ती नै बसालिएको छ । उक्त क्षेत्रमा स्थानियहरुले पक्की घर नै निमार्ण गरी घर भाडामा लगाउने बजार नै बसालेर व्यवसाय संचालन गर्दै आएका छन् ।

त्यसैगरी गोकुलगंगा गाउँपालिका–१ चुचुरेको गज्र्याङ, खाँडादेवी र दोरम्वा शैलुुङ गाउँपालिकाको सिमानामा पर्ने गाल्पा बजार, दोरम्बा शैलुङ गाउँपालिका–१ कुखुरे आहाल, खोला खर्क, सोही गाउँपालिकाको वडा नं २ को दोरम्बा बजारमा हजारौं रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरी बस्ती बसालिएको छ ।

यस्तै मन्थली नगरपालिका–१४ मा रहेको पोखरी वजार, वडा नं १३ मा रहेको मिल्ती वजार, वडा नं १ मा रहेको बसपार्क लगाएतको क्षेत्रमा रहेको सयौं रोपनी जग्गा स्थानियहरुले अतिक्रमण गरेका छन् । यसैगरी रामेछाप नगरपालिका–८ रामेछाप बजार क्षेत्रमा पनि जग्गा अतिक्रमण गरिएको र सो जग्गामा स्थानिहरुले भवन निमार्ण गरी घर बहालमा लगाउँदै रकम असुली गर्ने गरेको दोरम्वा शैलुुङ्ग गाउँपालिका–१ डडुवाका मानवहादुर मोक्तानले जानकारी दिए ।

विशेषगरी सार्वजनिक जग्गा अतिक्रमण गरी बजार विस्तार भएका उमाकुण्ड गाउँपालिकाको बाम्ती भण्डारको रत्नज्योती वजार, गोकुलगंगा गाउँपालिका अन्तर्गत चुचुरेको गज्र्याङ र ठोसे वजारमा स्थानियहरुले घर निमार्ण गरी वहाल लगाएर लाखौं रुपैयाँ रकम उठाउँदै आएका छन् ।

त्यस्तै रामेछाप नगरपालिकाको रामेछाप वजार, मन्थली नगरपालिकाको बसपार्क, मिल्ती र पोखरीडाँडा साथै दोरम्वा शैलुुङ्ग गाउँपालिकाको दोरम्वा वजार, डडुुवाको कुुखुरे आहाल र खाँडादेवी गाउँपालिकाको गाल्वा वजारमा स्थानियहरुले जग्गा अतिक्रमण गरी घरहरु निमार्ण गरी एकआपसमा विक्रीवितरण समेत गर्ने गरेको स्थानियहरु बताउँछन् ।

वन निर्देशनालय हेटौँडाको तथ्याङ्क हेर्दा बागमती प्रदेशका १३ जिल्लाहरु मध्ये सार्वजनिक जग्गा अतिक्रमण गर्नेमा चौथो जिल्लामा रामेछाप परेको छ । सार्वजनिक जग्गा अतिक्रमण हुने जिल्लाहरूमा सिन्धुली, मकवानपुर र चितवनपछि रामेछाप परेको वन निर्देशनालय हेटौडाले जनाएको छ ।

Scroll to Top