रामेछाप । विभिन्न गाउँमा चोरी गर्दै हिड्ने तीनजनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले सामान र नगद सहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको ब्रम्हापुरी नगरपालिका–६ का अन्दाजी वर्ष ४० की कुसुम कुमारी,सोही ठाउँकी वर्ष १९ की सुनिता कुमारी र भारत बिहार घर भएका वर्ष ३२ को तपेश्वर महतो रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कौशल न्यौपानेले जानकारी दिए ।
उनका अनुसार चोरीमा संलग्न तीनजनाले मन्थली नगरपालिका–४ सालुुको सामलथानस्थित सोमवहादुर खत्रीको घरबाट ओप्पो कम्पनीको मोवाइल र घरमा रहेको केही नगद समेत चोरी गरेका थिए । खत्रीले आफ्नो घरमा चोरी भएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । सोही उजुरीको आधार तत्काल प्रहरीले खोजतलासमा जुटेको थियो । प्रहरीले सकास्पद रुपमा हिड्दै गरेका तीनजनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरुको साथवाट चोरीको सामान बरामद भएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तीनैजनालाई डाँका चोरी मुद्धामा जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरी जिल्ला अदालत रामेछापबाट शुक्रवार ७ दिनको म्यादथप गरी थप अनुसन्धान भइरहेको पनि सूचना अधिकारी न्यौपानेले जानकारी दिए । पछिल्ला केही महिनायता रामेछापका विभिन्न स्थानहरुमा चोरीका घटनाहरु दैनिक जसो भइरहेका छन् । चोरीका घटना बढ्दै जाँदा स्थानिय नागरिकहरु त्रसित बन्दै आएका छन् ।