रामेछाप । नेपालीहरुको महानचाड दशैंका लागि आउने असोज १३ गतेदेखी सुकिला नोट साट्न पाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखेरलले जानकारी दिए ।
सबै बैंकहरुबाट सुकिला नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ । सुकिला नोट साट्न चाहनेले प्रति व्यक्तिले ५,१०,२०,५० र १०० का दरले एकसेट १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको भएता पनि यसवर्ष भने एक पटक प्रयोग भइसकेका नोट साट्न लागेको हो ।
हरेक वर्ष नयाँ नोट बजारमा पठाउने र त्यसको प्रयोग नहुँदै पुनः नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समेत समस्या आएकाले केन्द्रीय बैंकले यसपटक नयाँ नोट को साटो एक पटक प्रयोग भइसकेको सुकिला नोट सटही गर्न लागेको राष्ट्रबैंकले जनाएको छ ।