खुर्कोटको पुल संञ्चालनमा

रामेछाप । असोज १२ गते परेको अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोट पुल बगाएपछि उक्त पुल बेलिब्रिज राखेर जडान भएसँगै मंगलवारबाट संञ्चालनमा आएको छ ।

दुई जिल्ला जोड्ने एकसय मिटर लामो खुर्कोटको पुल बाढीले रामेछाप तर्फको करिव ५१ मीटर बगाएपछि सरकारले नेपाली सेनाको १४ नं बाहिनी अन्तर्गत प्राविधिक टोलीलाई पुल वनाउने जिम्मा दिएको थियो । सेनाले असोज १८ गतेबाट बेलिब्रिजको काम शुरु गरी १८ दिनमै उक्त पुल निमार्ण सम्पन्न गरेको हो । पुल सम्पन्न भएपश्चात उक्त पुलको आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सयुक्त रुपमा उक्त बेलिब्रिजको उद्घाटन गरेका हुन् ।

उक्त पुल उद्घाटन तथा धन्यवाद कार्यक्रम मन्थली नगरपालिकाले आयोजना गरेको थियो । सो उद्घाटन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले खुर्काेट पुलमा अस्थायी रूपमा बेलिब्रिज राखेर अवरुद्ध भएको यातायात सञ्चालन गरिएको बताए । त्यस्तै उनले चाडै स्थायी रुपमा पुल निमार्णको लागि सरकारले आवश्यक गृहकार्य गरेर अघि बढ्ने बताए ।

त्यस्तै मन्त्री दाहालले हाल निमार्ण सम्पन्न भएको बेलिब्रिजले १५ टन भार बहन क्षमताका सवारीसाधनहरु मात्रै निर्विवाध ढंगवाट सञ्चालन हुने छन् । १५ टन भन्दा माथिका सामाग्रीहरु मालवाहक गाडीले ल्याएको खण्डमा सिन्धुली तर्फ अनलोड गरी पुल वारीसम्म बोकाएर पुनः लोड गरी ल्याउनुपर्ने हुन्छ । १५ टन भन्दा माथीका सवारीसाधनहरु सञ्चालन गर्नको लागि स्थायी रुपमा नै पुल निमार्ण गर्नुपर्ने हुँदा यो बिषयलाई सरकारले छलफल पश्चात कार्य अघि बढ्छ । असोज १०,११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढीले देशभरका ८११ सडक क्षतविक्षत वनाएकाले ती सवै सडक अहिले अस्थायी रुपमा सञ्चालन गरिएको र चाडै स्थायी रुपमा निमार्णको कार्य थालनि गरिने पनि मन्त्री दाहालले बताए ।

सोही कार्यक्रममा बोल्दै ऊर्जा जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ्गले सबै तर्फको सहयोगमा २४ दिनमै पुल निमार्ण गर्न सफल भएको बताए । उनले भने– पुल निमार्णको जिम्मेवारी पाएको नेपाली सेनाले अहोरात्र खटेर काम सम्पन्न गरेकोमा धन्यवाद समेत दिएका थिए । त्यस्तै राज्यमन्त्री तामाङ्गले अहिलेको पुल अस्थायी मात्रै भएकाले चाडै स्थायी रुपमा पुल बनाउन तर्फ लाग्नु पर्ने भन्दै बर्षासँगै आएको बाढीले रामेछाप र सिन्धुली जोड्ने खैरेनी घाटको पुलमा समेत क्षती पुगेकाले तत्काल बेलिब्रिज जडान गरेर सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग माग गरेका छन् ।

हाल जडान भएको खुर्काेट बेलिब्रिजको १५ टन भार वहन क्षमता रहेको र यो पुलबाट एकै चोटि दोहोरो सवारी साधन सञ्चालन गर्न नमिल्ने नेपाली सेनाका प्रमुख सेनानी तथा पुल निर्माण टाक्स फोर्स कमान्डर नारायण सुब्बाले बताए । सेनाले काम शुरु गरेको १८ दिनमै पुलको काम सम्पन्न भएपछि सहज रुपमा यात्रा गर्न पाएका छन् । सोही कार्यक्रममा पुल निमार्णमा खटिने नेपाली सेनालाई सम्मान समेत गरिएको थियो ।

राजधानीबाट विपी राजमार्ग हुँदै खुर्कोटको पुलवाट सिन्धुलीको अलावा रामेछाप, दोलखा, सोलुखुम्वु र ओखलढुङ्गाका हजारौं नागरिकहरुले सेवा लिदै आएका छन् । उक्त पुलवाट दैनिक सयौं यातायातका साधनहरु संञ्चालन हुने गर्दछन् । खुर्कोटको पुल दश वर्षअघि १८ करोडको लागतमा बनेको सुनकोसी नदीमाथिको पक्की पुलले सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को वेतिनीलाई जोडेको थियो । खुर्कोटको पुल निमार्ण भएपश्चात रामेछापका नागरिकहरु दोलखा, ,सिन्धुपाल्चोक, काभ्रे हुँदै राजधानी जानुपर्ने वाध्यता हटेको थियो । खुर्कोटको पुन निमार्ण पछि राजधानीबाट विपी राजमार्ग हुँदै रामेछापको सदरमुकाम मन्थलीसम्म ७५ किलोमिटर दुरी छोटो भएको थियो ।

Scroll to Top