विपद् प्रभावित रामेछापका स्थानिय तहले ५० लाख पाउने

रामेछाप । असोज १०,११ र १२ गते परेको अविरल वर्षासँगै निम्ताएको विपद्का घटनामा क्षती पुगेका रामेछापका दुई नगरपालिका सहित ६ वटै गाउँपालिकालाई सरकारले ५० लाखको दरले राहात रकम उपलव्ध गराउने भएको छ ।

विपद्का घटनाका बिषयमा वसेको मन्त्री परिषद् बैठकले पछिल्लो बाढी पहिरो र डुबानबाट अति प्रभावित पालिकालाई एक करोड, मध्यम प्रभावित पालिकालाई ७५ लाख र सामान्य प्रभावित पालिकालाई ५० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

सरकारले गरेको निर्णय अनुसार रामेछापका स्थानिय तहहरुलाई सामान्य प्रभावित पालिकाहरूमा वर्गीकरण गरेको छ । सो निर्णय अनुसार रामेछापका दुई नगरपालिका र ६ वटा गाउँपालिकालाई सरकारले प्रति पालिका ५० लाख रुपैयाँका दरले विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराउने भएको हो ।

सरकारले गरेको निर्णय सँगै अव रामेछापका रामेछाप नगरपालिका, मन्थली नगरपालिका, दोरम्बा शैलुङ, खाँडादेवी, गोकुलगङ्गा, उमाकुण्ड, लिखु तामाकोशी, सुनापति गाउँपालिकालाई सामान्य प्रभावित पालिका वर्गमा राखेर प्रति पालिका ५० लाख रुपैयाँका दरले राहत रकम पाउने भएका हुन् ।

Scroll to Top