रामेछाप । दुई महिना अघिदेखी रामेछाप बिमानस्थलबाट रामेछाप–काठमाण्डौं उडान भर्दै आएका तीन निजि विमान कम्पनीहरुले उडान सेवा बन्द गरेपछि रामेछापबाट काठमाण्डौं जान टिकट काटेका यात्रु अलपत्र परेका छन् ।
निजी विमान कम्पनीहरुले रामेछापबाट काठमाण्डौं र काठमाण्डौबाट रामेछापको लागि नागरिक उड्डयन मन्त्रालयले उडान तालिका नै नराखेको भन्दै दुईहप्ता देखी उडान सेवा बन्द गराएका हुन् । दुई हप्ता अघिसम्म तारा एयर, सिता यएर र समिट एयर गरी तीन हवाई सेवाले दैनिक एक उडान भर्दै आएका थिए ।
रामेछापमा विमानस्थल भएर पनि नागरिकहरुले हवाई सेवा मार्फत सेवा नपाएको भन्दै चर्को बिरोध जनाउँदै आएका थिए । गत असोज १० देखी १२ गतेसम्म परेको अविरल वर्षासँगै आएको भिषण बाढीले बिपी राजमार्ग क्षतविक्षत बनाएर राजधानी देखी रामेछापसम्मको सम्पर्क टुटेपछि रामेछापमा असोजको तेश्रो सातादेखि निजी बिमान कम्पनीहरुले दैनिक एक उडान भर्दै आएका थिए ।
वर्षातका कारण सडक अवरुद्ध भएपछि जहाज मार्फत विरामी, जेष्ठ नागरिक, अशक्त, गर्भवति महिला र वालवालिकाहरुले सहजै यात्रा गर्ने अवसर पाएका थिए । जहाज बन्द भएपछि अहिले रामेछापका यात्रुहरु विपी राजमार्ग हुँदै घण्टौं समय लगाएर राजधानी जान वाध्य छन् । जिल्लामै विमानस्थल हुँदा पनि नागरिकहरुले सेवा नपाउँनु दुःखद भएको मन्थली नगरपालिका–१ का नारायणदास श्रेष्ठले जानकारी दिए ।
रामेछाप बिमानस्थलबाट काठमाण्डौंसम्म नियमित सेवा दिदै आएको तारा एयर, समिट एयर र सिता एयरले दुइसातादेखि काठमाडौंका लागि उडान सेवा बन्द गरिएको तारा यएर रामेछापका स्टेसन प्रमुख प्रविण सुवेदीले जानकारी दिए । उनले भने– विमानको उडान तालिका नहुँदा हाललाई नियमित उडान सेवा बन्द भएको छ । नागरिक उड्डयन प्राधिकरणले उडान तालिका पठाए पुनः नियमित उडान भर्ने प्रमुख सुबेदीले बताए ।
रामेछाप–काठमाण्डौं नियमित उडान हुँदै जहाजको टिकट काटीसकेका नागरिहरु विमानको उडान सेवा बन्द हुँदा मारमा परेका छन् । जहाजको टिकट काटेर राजधानी जाने तयारी गर्दागर्दै जहाजको उडान सेबा नै बन्द हुँदा आफुहरु मारमा परेको गोकुलगंगा गाउँपालिका–४ बेतालीका नविन केसीले जानकारी दिए ।
रामेछापमा विमानस्थल भएर पनि नागरिकहरुले सेवा नपाएको भन्दै रामेछापका प्रतिनिधिसभा सदस्य एवं जलश्रोत, उर्जा तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङसहित जिल्लाबासीहरुको तीब्र दबाब पछि नागरिक उड्डयन मन्त्रालयले तालिका सार्वजनिक गरेपछि निजी वायुसेवा कम्पनीहरुले रामेछाप–काठमाण्डौं उडान भर्दै आएका थिए ।
उडान सेवा शुरु गरेको दुई महिना नवित्दै उडान सेवा बन्द गरेपछि रामेछापका नागरिकहरु मारमा परेका छन् । तीन विमान कम्पनीहरुले रामेछाप–काठमाण्डौं उडान बन्द गरेता पनि हाल रामेछाप बिमानस्थलवाट सोलुखुम्वुको लुक्लाको लागि दैनिक ४० भन्दा बढी उडान भर्दै आएका छन् ।