रामेछाप । स–साना करदाताहरुले पनि लेखा व्यवस्थापन सहज रुपमा गर्न सकुन भन्ने उद्धेश्यले सदरमुकाम मन्थलीमा तीन दिने लेखा व्यवस्थापन तालिम शुरु गरिएको छ ।
उक्त तालिम मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा रामेछाप उद्योग बाणिज्य संघको आयोजनामा शुरु भएको हो । उक्त तालिमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले बुधवार एक कार्यक्रमको विच गरेकी थिइन ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख खड्काले तालिमममा सिकेको कुरा व्यवहारमा उतार्न आग्रह गर्दै हिसाव किताव नमिल्दा धेरै समस्या झेल्नु पर्ने भएकाले हिसाव किताव मिल्ने गरी तालिम लिन सहभागीहरुलाई आग्रह गरीन । उनले अहिले पनि स्थानीय सरकारले लेखामा कार्यरत कर्मचारीलाई दबाबमा पारेर, नियम विपरीत बिल पास गर्न लगाउने र चेक काट्न लाउने गरेको भन्ने गुनासाहरु आइरहेका छन् । कर्मचारीहरुले कोही कसैको दवावमा परेर यस्तो काम नगर्न उनले आग्रह गरिन ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि एवं मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले उद्घटन कार्यक्रमममा बोल्दै लेखा व्यवस्थापन तालिम अति महत्वपूर्ण भएकाले विधिपूर्वक लागि पर्न सहभागीहरुलाई आग्रह गरे । उनले अहिले समाज विश्वासमा चल्न छोडेको भन्दै सकारात्मक सोचबाट मात्रै अघि वढ्न सकेमात्र मुलुक सहि दिशातीर अघि वढ्न सक्ने बताए ।
उद्घाटन कार्यक्रममा रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सबै व्यवसायीहरुले आफ्नो दैनिक कारोवार चुस्त, दुरुस्त राख्नुपर्ने भएकाले पनि यो तालिम महत्वपूर्ण रहेको बताए । उनले जुनसुकै व्यवसायीहरुको लेखा कस्तो छ भन्ने बिषयमा परीक्षण हुनसक्ने भएकाले आफ्नो लेखा प्रणाली कारोवारलाई व्यवस्थित तरिकाले राख्न समेत सहभागीहरुलाई अनुरोध गरे ।
रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नवीनकुमार थापामगरको अध्यक्षतामा भएको उक्त तालिमको उद्घाटन कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्याम थापा लगाएतका वक्ताहरुले तालिमको महत्व र यसवाट व्यवसायीहरुमा पुग्ने फाइदाका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।