रामेछाप । मन्थली सामुदायिक खानेपानी उपभोक्ता सरसफाई समिती मार्फत सदरमुकाम मन्थलीमा बितरण गरिदै आएको खानेपानीको मासिक शुल्क आगामी बैंशाख महिनादेखी एकसय रुपैयाले घट्ने भएको छ ।
समितिको बुधवार सदरमुकाम मन्थलीमा भएको २२ औँ बार्षिक साधारण सभाले खानेपानीको मासिक न्यूनतम शुल्क घटाउने निर्णय गरेसँगै उपभोक्ताहरुले थोरै भए पनि राहातको अनुभुती गर्न पाउने भएका छन् । समितिले हाल मन्थली बजार, दाहालगाउँ, सानीमदौ र आकाशे लगाएतका क्षेत्रमा गरी करिब १ हजार उपभोक्ताहरुलाई दैनिक खानेपानी बितरण गर्दै आएको छ ।
समितिले वितरण गरेका ती धाराको १५ हजार लिटरसम्म मासिक प्रति धारो ५ सय रुपैयाँले शुल्क लिने र १५ हजार लिटर माथि थप शुल्क रकम लिदै आएको थियो । उपभोक्ताहरुले खानेपानीको शुल्क महगों भएको गुनासो गरेसँगै समितिले सबै सदस्यहरुसँग छलफल गरेर मासिक शुल्क एकसय रुपैयाले घटाएको मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव ढाकल थापाले जानकारी दिए ।
समितिका अध्यक्ष पूर्णवहादुर सुबेदीको अध्यक्षतामा भएको उक्त साधारणसभाको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले हाल वितरण गरिएको खानेपानीलाई अझ व्यवस्थीत र दिर्घकालिन हुने किसिमले व्ययवस्थित गर्दै लैजानुपर्ने र सदरमुकाममा जुनसुकै बेला आगलागी लगाएतका प्रकोप हुँदा नियन्त्रणको लागि प्रयोग गर्न छुट्टै पाइपल लाइनको व्यवस्थापन गर्नुपर्ने र यसका लागि नगरपालिका सहयोग गर्न तयार रहेको बताए ।
साधारणसभामा अध्यक्ष पूर्णवहादुर सुवेदी, सचिव ढाकलबहादुर थापा र कोषाध्यक्ष कृष्णवहादुर वस्तेतले प्रश्तुत गरेका प्रतिवेदनहरु पारित गर्नुको साथै सोही बार्षिक साधारण सभाको अवसर पारेर समितिमा उत्कृष्ट काम गरेको भन्दै समितिका कार्यालय सहयोगी डुकबहादुर थापालाई ५ हजार नगद सहित सम्मान गरिएको थियो ।
समितिले यस बर्ष प्रतिनिधिमुलक बार्षिक साधारण सभा गरेको हो । झण्डै १ हजार उपभोक्ता भएकाले समितिले आफ्ना ९ वटा क्षेत्रमा पुगेर बेग्लाबेग्लै साधारण सभा सम्पन्न गरेर साधारणसभावाट आएका प्रतिनिधिहरु राखेर बार्षिक साधारणसभा गरेको हो । यसअघिका साधारणसभा सबै सदस्यहरु अनुपस्थिती भएपछि समस्या भएको भन्दै समितिले यस पटक फरक तरिकाले साधारणसभा गरेको हो ।
कार्यक्रममा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष नविनकुमार थापामगर, उपभोक्ताको तर्फवाट जेएन दाहाल र यमवहादुर थापा लगाएतका वक्ताहरुले साधारणसभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।