खिम्ती जलविद्युत आयोजना ११ करोड ३९ लाख घाटामा

रामेछाप । नर्वेजियन लगानीमा निमार्ण सम्पन्न भएको ६० मेगावाटको खिम्ती जलविद्युत् प्रवद्र्धक हिमाल पावर लिमिटेडको घाटा बढेको छ । उक्त आयोजना ११ करोड ३९ लाख रुपैयाँ (१७५.३९ प्रतिशत) घाटा व्यहोर्नु परेको हो ।

उक्त आयोजनाको २०७७ असार २८ गतेदेखि खिम्तीको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणले लिएको थियो । खिम्तीमा उत्पादित विजुली अमेरिकी डलमा विक्री गर्दै आएकोमा पछिल्लो समय प्राधिकरणले यसको बिजुली पनि अमेरिकी डलरमा किन्न छाडेपछि यसको नाफामा उल्लेखनीय गिरावट आई घाटा बढेको हो ।

अहिले खिम्तीको विजुली प्राधिकरणले प्रतियुनिट २ रुपैयाँमा अन्तरिम रुपमा खरिद गर्दै आएको छ । प्राधिकरण र हिमाल पावरबीच भएको विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार खिम्तीको स्वामित्व प्राधिकरणमा ५० प्रतिशत हस्तान्तरण भएपछि छुट्टै संयुक्त कम्पनी खोल्नुपर्नेछ । हाल प्राधिकरण र हिमाल पावरबीच पीपीएको दरमा कुरा नमिलेका कारण त्यस्तो संयुक्त कम्पनी स्थापना हुन सकेको छैन । हिमाल पावर लिमिटेड (खिम्ती) को आयोजना २७ असार २०५७ देखि सञ्चालनमा आएको हो ।

२० वर्षसम्म पूर्ण रुपमा अमेरिकी डलरमा बिजुली खरिद गर्नुपर्ने सम्झौता रहेकोमा २०७७ सालदेखि डलर पीपीएको साटो नेपाली मुद्रामा पीपीए गरिने र आधा स्वामित्व प्राधिकरणको हुने उल्लेख छ । खिम्तीको आधा स्वामित्व प्राधिकरणमा हस्तान्तरण हुनुअघिसम्म यसले प्राधिकरणलाई वर्ष २ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बेच्ने गर्दथ्यो ।

आर्थिक वर्ष २०६४÷६५ मा खिम्तीले प्राधिकरणलाई २ अर्ब १३ करोड रुपैयाँको बिजुली बिक्री गरेको थियो । जसवाट खिम्तीबाट बुटबल पवार कम्पनीले आव २०६४÷६५ मा लाभांश बापत मात्रै १५ करोड ६५ लाख रुपैयाँ प्राप्त गरेको थियो । खिम्तीमा बीपीसीको १६.८८ प्रतिशत शेयर छ । खिम्तीको नाफा घट्न थालेपछि बीपीसीको नाफा पनि घट्दै जान थालेको छ ।

अमेरिकी डलरको विनिमयमा भएको वृद्धिसँगै खिम्तीको आम्दानी पनि बढ्दै गएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा खिम्तीले प्राधिकरणलाई ५ अर्ब रुपैयाँभन्दा बढीको बिजुली बिक्री गरेको थियो । हिउँदको समयमा खिम्ती खोलामा पानी कम भएको बखत खिम्तीलाई अधिक बिजुली (पीपीएमा उल्लेख भएको ऊर्जाभन्दा बढी ऊर्जा उत्पादन भएमा) बापत धेरै रकम प्राधिकरणले तिर्नुपर्ने गरी सम्झौता गरिएकाले प्राधिकरणलाई घाटा पर्दै आएको थियो । अझ खिम्तीले सरकारलाई तिर्नुपर्ने विद्युत् रोयल्टी पनि प्राधिकरणले नै तिर्नुपर्ने सम्झौता थियो ।

नेपाल विद्युत् प्राधिकरणलाई घाटा पार्ने गरी खिम्ती जलविद्युत आयोजना सहित भोटेकोसीको डलर पीपीए नेपाली काँंग्रेस, नेकपा एमाले र राप्रपा मिलेर गरेका थिए । २०४९ सालमा हिमाल पावर लिमिटेड स्थापना भएपछि यसको पीपीए अमेरिकी डलरमा काँग्रेसका जलस्रोत राज्य मन्त्री लक्ष्मण घिमिरेले सुरुवात गरेका थिए भने एमाले सरकारमा पुगेका बेला तत्कालीन जलस्रोत मन्त्री प्रदीप ज्ञवाली र राप्रपाबाट जलस्रोत मन्त्री भएका पशुपति शमशेर जबराले राजनीतिक जोखिम बढेको भन्दै पीपीए दर वृद्धि गरेका थिए ।

उक्त आयोजनाको आर्थिक वर्ष २०८०÷८१ मा बीपीसीको खुद नाफा ३६.४१ प्रतिशतले घटेको छ । त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा बीपीसीको करपछिको खुद मुनाफा ३० करोड ५० लाख रुपैयाँ थियो भने आर्थिक वर्ष २०८०÷८१ मा उसको नाफा १९ करोड ३९ लाख रुपैयाँमा मात्रै रहेको छ । विद्युत विक्रीवाट डलरमा भुक्तानी हुन छाडेको र आधा स्वामित्व प्राधिकरणमा गएका कारण हिमाल पावरको प्रतिशेयर आम्दानी पनि ऋणात्मक ६ रुपैयाँ ४६ पैसा कायम भएको बीपीसीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

Scroll to Top