गत वर्षको तुलनामा यसवर्ष बैंकहरुको नाफा घट्यो

काठमाण्डौं । बैंकहरुले दोस्रो त्रैमाकसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित अनुसार बैंकहरुको गत आर्थिक वर्षको तुलनामा यसवर्ष खुद नाफा घटेको छ ।

प्रकाशित विवरया अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष घटेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले कुल २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गएको आर्थिक वर्षको अवधिको तुलनामा ४.६२ प्रतिशतले कमी हो ।

गत आर्थिक वर्षको पौष मसान्तसम्म बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएका थिए । २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुको नाफा घट्दा समग्रमा बैंकहरुको खुद नाफा घटे पनि ११ बैंकहरुको नाफा भने बृद्धि भएको छ ।

नाफा कमाउने बैंक मध्ये सबैभन्दा बढी नाफा कमाउनेमा प्रभु बैंक रहेको छ । प्रभु वैंकले ६ महिनाको अवधिमा ८५.४९ प्रतिशतले नाफा थप्न सफल भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७२ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ५७ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकको साढे ४९ प्रतिशत र एनएमबि बैंकको साढे ४५ प्रतिशतले नाफा रकम बृद्धि भएको छ । त्यसैगरी एनआईसी एशिया बैंकको खुद नाफा पौषसम्ममा सबैभन्दा बढी ९२.०३ प्रतिशतले गिरावट आएको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड १७ लाख रुपैयाँ मात्र नाफा कमाउन सफल भएको छ । त्यस्तै कुमारी बैंकको खुद नाफा ६८ प्रतिशतभन्दा बढी घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ६२ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २० बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ । उक्त बैंकले छ महिनाको अवधिमा ३ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको हो । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२९ प्रतिशतले बृद्धि गराएको हो । त्यसैगरी अर्को ग्लोबल आइएमई बैंकले पुस मसान्तसम्ममा ३ अर्बभन्दा बढी नाफा कमाएको छ भने सबैभन्दा कम नाफा कमाउने बैंकमा एनआईसी एशिया बैंक रहेको छ । उक्त बैंकले यस अवधिमा १५ करोड रुपैयाँ मात्र नाफा कमाउन सफल भएको हो ।

समग्रमा चालु आर्थिक वर्षको पौष महिनासम्ममा एघार बैंकहरुले १ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन् भने दुई बैंकहरुले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । त्यस्तै अन्य ३ बैंकहरुले २ अर्बभन्दा बढी नाफा कमाउन सफल भएका छन् भने बाँकी अन्य ६ बैंकहरुको नाफा भने १ अर्बभन्दा बढी कमाउन सफल भएका हुन् ।

Scroll to Top