
रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको दुर्गम गाउँका सिमान्तकृत थामी बस्तीमा घरै पिच्छे खानेपानीको धारा पुगेको छ ।

हङ्कङको कादुरी एग्रिकल्चर एड् एसोसिएसन ब्रिटिस गार्खाज नेपाल पोखराको आर्थिक तथा प्राविधिक सहयोगमा डडुवाका थामी वस्तीमा घरै पिच्छे धारा निमार्ण भएर खानेपानी झरेपछि थामि समुदाय हर्षित भएका छन् । थामीको वाहुल्यता रहेको डडुवाको मझुवा, पाखाटोल, दलेचौर र सल्लेटारमा पानीको धारा झरेको छ । त्यस्तै व्रिटीस गार्खाजले सोही स्थानको तामाङ, मगर र क्षेत्री समुदायको बस्तीमा गरी कूल १ सय ८२ वटा खानेपानीको धारा वितरण गरेको छ ।

कूल १ करोड ८२ लाखको लागतमा निर्माण सम्पन्न भएको सो खानेपानी आयोजनाको आइतबार उद्घाटन गरिएको छ । आयोजना निर्माणको लागि ब्रिटिस गार्खाजले कूल १ करोड ६१ लाख ९९ हजार रुपैँया उपलब्ध गराएको थियो भने स्थानीयले २१ लाख ३९ हजार रुपैँया बराबरको श्रमदान गरेर उक्त आयोजना निमार्णको काम सम्पन्न गरेका थिए ।
गएको भदौ महिनामा गाउँमा भएको सबै खानेपानीको मुहान समेत पहिरोले वगाएपछि पिउनेपानी बाट वत्तिचत भएका डडुवाका सिमान्तकृत थामी समुदायमा घरै पिच्छे खानेपानीको धारा झरेपछि स्थानियहरु हर्षित भएको स्थानिय काले थामीले जानकारी दिए । उनले भने– पहिरोले गाउँका सवै खानेपानी बगायो । हामीले अहिले कुवा खोल्साखाल्सीको प्रदुषित पानी पिउँदै आएका थियौ । ढिलै भए पनि यस संस्था गाउँमा भगवान बनेर आएर हामी जस्ता गरिव निमुखा नागरिकहरुलाई पानी खुवाउनु भयो उहाँहरुको जयजयकार होस् ।
निमार्ण सम्पन्न भएको सो खानेपानी योजनाको कादुरी च्यारिटेवल फाउण्डेशन हङ्कङका डाइरेक्टर पिटर पाउल डी ग्रुटेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा कादुरी एग्रिकल्चरल एसोसिएसन नेपालका डाइरेक्टर कर्नेल एन्द्रियु मिल्ज, कादुरी एग्रिकल्चरल एसोसिएसन नेपालका टेक्निकल डाइरेक्टर डा.नारायण गुरुङ, दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाका वडाध्यक्ष प्रेम लामा लगायत स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

आयोजना अन्तर्गत एउटा इन्टेक, एउटा फिल्टर टङ्की, तीनवटा डिस्टिब्युसन च्याम्बर तथा सातवटा रिजर्भ टैङ्की निमार्ण भएका छन् । ढिलै भएपनि सिमान्तकृत थामी समुदायले स्वच्छ पिउने पानी वितरण गर्दा आफुलाई निकै खुशी लागेको कादुरी एग्रिकल्चरल एसोसिएसन नेपालका टेक्निकल डाइरेक्टर डा.नारायण गुरुङले जानकारी दिए ।
डडुवाको थामी वस्तीमा खानेपानी उपलव्ध भएता पनि डडुवाकै अन्य क्षेत्रमा पनि वर्षौैदेखी नागरिकहरुले खानेपानीको समस्या झेल्दै आएकाले ती क्षेत्रमा पनि पानीको व्यवस्थापनमा सहयोग गरिदिन हङ्कङको कादुरी एग्रिकल्चरसँग वडा अध्यक्ष प्रेम लामाले अनुरोध गरेका छन् । अध्यक्ष लामाले गएको भदौ महिनामा परेको भीषण वर्षाको कारण डडुवाको थामी बस्तीमा गएको पहिरोले सडक, खानेपानी लगाएतको क्षेत्रमा क्षती पुर्याएकाले ती संरचना निमार्णमा पनि सहयोग गरिदिन कादुरी संस्थाका पदाधिकारीसँग अनुरोध गरेका छन् ।