तेस्रो मन्थली नगरकपको उपाधी चिसापानीले जित्यो

रामेछाप । सदरमुकाम मन्थलीमा जारी तेस्रो मन्थली नगरपालिका कप रनिङ्ग शिल्ड भलिवल प्रतियोगीताको उपाधी मन्थली नगरपालिका–८ चिसापानीले जितेको छ ।

वुधवार वडा नं ८ चिसापानी र वडा नं १० चनखु विच भएको फाइनल खेलमा तिनै खेल सोझो सेटमा चनखुलाई हराउँदै चिसापानीले जित हात पार्न सफल भएको हो । चिसापानीले २५–१९, २५–९ र २५–१२ तिनवटै खेलमा चनखुलाई हराएको थियो । प्रतियोगीतामा जित हासिल भएसँगै चिसापानीका खेलाडीहरुले १ लाख नगद सहित, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।

त्यसैगरी प्रतियोगीतामा उपविजेता वनेको चनखुका खेलाडीहरुले नगद ७५ हजार सहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पारेका छन् । त्यस्तै तेस्रो स्थान हासिल गर्ने वडा नं ७ भटौलीले ३० हजार नगद सहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।

त्यस्तै मन्थली नगरपालिका प्रथम महिला भलिवलको उपाधी मन्थली नगरपालिका–७ भटौलीलले हात पारेको छ । उसले नगद ५० हजार सहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पारेका छन् । प्रतियोगीताको उपविजेता वडा नं १३ फुलासीले नगद ३० हजार सहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पारेका छन् भने तेस्रो स्थानमा परेको मन्थली नगरपालिका–६ भलुवाजोरले २० हजार नगद सहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पारेका छन् ।

विजेता खेलाडीहरुलाई मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र उप–प्रमुख ईश्वरी वस्नेतले सयुक्त रुपमा नगद, शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

Scroll to Top