रामेछाप । रामेछापका ८ वटा स्थानिय तहको बेरुजु रकम १४ करोड ९० लाख रुपैयाँ पुगेको छ ।


गएको आर्थिक वर्ष २०८०÷०८१ स्थानिय तहको लेखा परीक्षण सम्पन्न गरी महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनमा रामेछापका ८ वटा स्थानिय तहमा गरी उक्त बेरुजु रकम रहेको देखाएको हो । जसमध्ये ८ स्थानिय तहहरु मध्ये सबैभन्दा कम बेरुजु मन्थली नगरपालिकामा देखिएको छ भने सवैभन्दा बढी बेरुजु गोकुलगंगा गाउँपालिकामा देखिएको छ ।

महालेखाको प्रतिवेदन अनुसार सबैभन्दा कम मन्थली नगरपालिकाको बेरुजू ७४ लाख १ हजार अर्थात ०.३४ प्रतिशत रहेको छ भने सबै भन्दा बढी गोकुलगंगा गाउँपालिकाको ४ करोड ६७ लाख ५८ हजार अर्थात ३.७५ प्रतिशत बेरुजु रकम देखिएको छ । त्यस्तै रामेछाप नगरपालिकाको ८७ लाख ५४ हजार अर्थात ०.५० प्रतिशत बेरुजु देखिएको छ ।


त्यसैगरी उमाकुण्ड गाउँपालिकाको ९९ लाख ८१ हजार अर्थात ०.८० प्रतिशत, खाँडादेवी गाउँपालिकाको २ करोड २९ लाख ७८ हजार अर्थात १.६८ प्रतिशत र दोरम्वा शैलुङ्ग गाउँपालिकाको १ करोड ५२ लाख ४ हजार अर्थात १.३० प्रतिशत वेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै उक्त प्रतिवेदन अनुसार लिखु तामाकोसी गाउँपालिकाको १ करोड १३ लाख ३० हजार अर्थात ०.७८ प्रतिशत र सुनापती गाउँपालिकाको २ करोड ६६ लाख ३१ हजार अर्थात २.३२ प्रतिशत वेरुजु देखिएको हो ।
जिल्लाका ८ वटै स्थानिय तहको आर्थिक वर्ष २०८०÷०८१ को आन्तरिक लेखा परीक्षण गराए पश्चात अन्तिम लेखा परीक्षण महालेखा परीक्षकको कार्यालयबाट खटिएका कर्मचारीहरुले गरेका थिए । लेखा परीक्षण सम्पन्न गरी महालेखा परीक्षकको कार्यालयमा कर्मचारीहरुले बुझाएको प्रतिवेदनको आधारमा उक्त वेरुजु रकम देखाएको हो ।