रामेछाप । रामेछापका जनप्रतिनिधि र स्थानिय तहमा कार्यरत कर्मचारीहरुले भ्रष्टचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा उजुरी दिने वढेसँगै सो कार्यालयमा उजुरीको चाङ लागेको छ ।


रामेछापका २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुले भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा एक सय २० वटा उजुरी दर्ता भएका छन् । जसमध्ये अख्तियार कार्यालयले ६५ वटा उजुरी फस्र्योट गरेको छ । बाँकी ५५ वटा उजुरीको छानविन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासका अनुसन्धान अधिकृत कपील ज्ञवालीले जानकारी दिए ।
जनप्रतिनिधि र कर्मचारीहरु विरुद्ध परेको उजुरी मध्ये अधिकासं उजुरीमा जनप्रतिनिधि र कर्मचारी मिलेमतोमा अनियमितता गरेको, सामान खरिद, सडक निमार्ण, भवन निमार्ण, राजश्व रकम, औषधी खरिद, अनुदान लगाएतका विषयमा चरम भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ । कार्यालयमा परेका उजुरीका बिषयमा अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।



रामेछापका ८ स्थानिय तहहरुमध्ये सबैभन्दा वढी उजुरी खाँडादेवी गाउँपालिकाको रहेको छ । सो पालिकाका जनप्रतिनिधि र कर्मचारी विरुद्ध अख्तियारमा २३ वटा उजुरी परेकोमा १४ उजुरी फस्र्योट भएको र बाँकी ९ उजुरीको बिषयमा अनुसन्धान भइरहेको छ । त्यस्तै रामेछाप नगरपालिकाको जनप्रतिनिधि र कर्मचारी विरुद्ध १५ उजुरी दर्ता भएकामा ६ उजुरी अनुसन्धान गरी फस्र्योट गरिएको र बाँकी ९ उजुरी अनुसन्धानको क्रममा रहेको अख्तियार कार्यालयले जनाएको छ ।
त्यसैगरी मन्थली नगरपालिकाको १५ उजुरी दर्ता भएकोमा ५ उजुरी फस्र्योट भइसकेको र अरु १० उजुरीको बिषयमा छानविन भइरहेको छ । त्यस्तै दोरम्वा शैलुङ्ग गाउँपालिकाको १३ उजुरी दर्ता भएकोमा सबै उजुरी फस्र्योट भइसकेका छन् भने लिखु तामाकोशी गाउँपालिकाको ११ उजुरी दर्ता भएकोमा ६ फस्र्योट भइसकेको र वाँकी ५ वटाको बिषयमा अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी सुनापति गाउँपालिकाको ५ उजुरी दर्ता भएकोमा २ वटा फस्र्योट भएको र बाँकी ३ वटाको बिषयमा छानविनकै क्रममा रहेको छ । गोकुलगंगा गाउँपालिकाको ३ वटा उजुरी दर्ता भएकोमा तीनवटै उजुरी छानविनमै रहेको छ भने उमाकुण्ड गाउँपालिकाको ४ वटा उजुरी दर्ता भएकोमा ३ वटा फस्र्योट भएको र बाँकी १ को अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका अनुसन्धान अधिकृत ज्ञवालीले जानकारी दिए ।