रामेछाप । गत वर्षको असोज १२ गते आएको सुनकोशीको बाढीले क्षती पुर्याएको रामेछाप र सिन्धुलीको सिमानामा पर्ने पुछिघाटको झोलुङ्गे पुल मर्मत सम्भार पछि अस्थायी रुपमा संचालनमा आएको छ ।

सुनकोशीको बाढीले रामेछापको खाँडादेवी र सिन्धुलीको सुनकोशी गाउँपालिका जोड्ने एक सय ८० मिटर लामो पुछिघाटको झोलुुङ्गे पुलको रामेछाप तर्फको करिव ३० मिटर भागमा बाढीले क्षती पुर्याएको थियो । पुलमा क्षती पुर्याएपछि रामेछापको खाँडादेवी र सिन्धुलीको सुनकोशी गाउँपालिकाका नागरिकहरु प्रत्यक्षमा मारमा परेका थिए ।

उक्त स्थानमा नदी वारपार गर्ने वैकल्पीक मार्ग नहुँदा नागरिकहरु क्षती पुुगेको उक्त पुलको लठ्ठा समातेर जोखिम पूर्ण रुपमा वारपार गर्दै आएका थिए । उक्त पुल तरेर रामेछापको खाँडादेवीवाट सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको दीर्घ प्रदिप माध्यमिक विद्यालयमा करिव दुई दर्जन भन्दा वढी विद्यार्थीहरु अध्ययन गर्न जाने गरेका छन् । त्यस्तै खेती किसान गर्ने कृषकहरु पनि सो झोलुङ्गे पुल तरेर दैनिक रुपमा वारपार गर्नुपर्ने वाध्यता रहेको खाँडादेवी गाउँपालिका–४ पुछिघाटका हर्के माझीले जानकारी दिए ।



पुल नवन्दा धेरै कष्टकर रुपमा यात्रा गर्नुपर्ने वाध्यता थियो । वाढीले पुलको टेक्ने स्टील डेक र पुलको बार दुवै तर्फको धेरै बगाएको छ । बगाएको स्टील डेकमा अहिले स्थाथिय स्तरमा पाइने बास, काठको फ्ल्याक हालीएको छ भने बारको लागि बाँसले बारिएर अस्थायी रुपमा मर्मत सम्भार गरी पुल सञ्चालनमा ल्याइएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने–अहिले तत्काल स्थायी रुपमा पुल निमार्ण गर्ने सक्ने अवस्था भएन । झोलुङ्गे पुलवाट दैनिक सयौं नागरिकहरु जोखिम मोलेर वारपार गर्नुपर्ने वाध्यता छ । त्यसैले नागरिकहरुलाई नदी वारपार गर्न केही सहज होस् भन्ने उद्धेश्यले गाउँपालिकाको विपद् व्यवस्थापन कोषवाट ४ लाख ५० हजार रुपैयाँ खर्चेर उक्त मर्मत सम्भार गरिएको छ । अहिले अस्थायी रुपमा मात्रै हामीले व्यस्थापन गरेका छौं । स्थायी रुपमा पुल निमार्ण गर्न धेरै खर्च लाग्छ, मन्त्रालयसँग उक्त पुल निमार्णको लागि माग गरेका छौं अध्यक्ष श्रेष्ठले बताए ।

बाढीले पुलमा क्षती पुुर्याएपछि तत्कालको लागि आवतजावतमा सहजता होस् भन्ने उद्धेश्यले जिल्ला प्रशासन कार्यालय रामेछापको विपद् व्यवस्थापन समितिले सुनकोशी नदीमा र्याफटिङको व्यवस्थापन गरेको थियो । हिउँदको समयमा उक्त र्याफटिङ प्रभावकारी भएता पनि वर्षातमा नदीको वहाव बढ्दा समस्या हुने भएपछि गाउँपालिकाले उक्त पुल अस्थायी रुपमा मर्मत सम्भार गरेको हो ।