रामेछाप । दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरकाे सिगार्चे खोलामा पुल नहुँदा वर्षातको समयमा विद्यालयमा पढ्न जाने बालबालिकालाई असहज भएपछि सोही वडाका निर्वतमान वडा अध्यक्ष लालबदन मगरले काठेपुल निमार्ण गरिदिएका छन् ।

यसअघि वडा कार्यालयले उक्त खोलामा हिमपाइप राखी पानी कटाएर आवतजावतमा सहज बनाएको थियो । गत वर्ष असोज १२ गते आएको सिगार्चे खोलाको बाढीले उक्त हिमपाइपम बगाएर एक छेउमा पुर्याएर अर्कोतर्फवाट खोला बगेर सडक बिगारेपछि स्थानियहरुले उक्त हिमपाइप निकालेका थिए । हिमपाइप निकाले पछि अहिले वर्षामा खोला वारपार गर्न समस्या भएपछि त्यस स्थानमा काठेपुल निमार्ण गरेसँगै समस्या हटेको निर्वतमान वडा अध्यक्ष मगरले जानकारी दिए ।

उनले भने– स्थानिय गाउँलेहरु मिलेर गाउँमै उपलव्ध काठ प्रयोग गरेर खोलामा पुल त हाल्यौ । तर ठूलो पानी पर्दा बगाउँछ की भन्ने चिन्ता लाग्छ । रातको समयमा पनि खोलामा पुगेर पुल हेरेर फर्कने गर्छु । जे होस् अहिलेसम्मको खोलामा आएको पानीले बगाएको छैन । पुल भएपछि गाउँका सबै नागरिकलाई सहज भएको छ ।


खोलामा पुल नभएपछि कण्ठेश्वर माध्यमिक विद्यालय थामचौर र ड्रिमल्याण्ड मन्टेश्वरी बोडिङ्ग स्कुलमा अध्ययन गर्न जाने वालवालिकाहरु जोखिमा मोलेर आवतजावत गर्न थालेपछि निर्वतमान वडा अध्यक्षको पहलमा स्थानिय गाउँलेहरु मिलेर सिगार्चे खोलामा काठको पुल निमार्ण गरेका हुन् । काठे पुल निमार्ण भएपछि विद्यालय जान र आउन सहज भएको कण्ठेश्वर माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययरत छात्रा संगीता थापामगरले बताइन ।

उनले भनिन्– खोला तर्न नसक्दा कहिलेकाहीँ त विद्यालय नै जान पाइदैन । अहिले पुल हालेको ठाउँवाट तरेर विद्यालय जान छोटो दुरी पर्छ । पुल नहुँदा निकै तल एक घण्टा पैदल हिडेर तल पुगेपछि मात्रै अर्को पुल भेटिन्छ । साथी भए त ठिकै हो, कहिले त एक्लै परिन्छ । जंगलको वाटो एक्लै हिड्न डर लाग्छ, एक्लै भएको बेला त पढाई नै छुट्ने गथ्र्यो । अहिले त जे भए पनि काठको पुल छ, आउजाउँ गर्न धेरै सहज भएको बताइन ।
उक्त खोला तरेर मगर गाउँ, निगुरे वस्ती देखी विभिन्न गाउँका विद्यार्थी, शिक्षक र सयौं गाउँलेहरु दैनिक आवतजावत गर्ने गर्दछन् । पुल नहुँदा धेरै समस्या थियो । अहिले केही हदसम्म सहज भएको छ । वर्षात समय भएकाले खोला ठूलो आएर पुल लैजान्छ की भन्ने चिन्ताले सताउने गरेको स्थानिय गणेशवहादुर मगरले जानकारी दिए ।

उक्त स्थानमा पुलको आवश्यकता भएता पनि सडक मार्गको एक किलोमिटर टाढा मात्रै झोलुङ्गे पुल निमार्ण गर्न मिल्ने भएकाले त्यहाँ पुलन निमार्ण गर्न नसकिएको दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरका वडा अध्यक्ष सन्तलाल थापामगरले जानकारी दिए । उनले भने– त्यहाँ निकै ठूलो खोला आउँछ, ठाउँ पनि फराकिलो भएकाले समस्या छ । हिउँदको समयमा सहज भए पनि वर्षातको समयमा स्थानियहरुलाई समस्या हुने गरेको बताए ।