रामेछाप–काठमाण्डौं जहाज उडान माग गर्दै युवाले बुझाए प्रशासनमा माग पत्र

रामेछाप । विगत लामो समयदेखी रामेछापको विमानस्थलबाट काठमाडौंका लागि उडान नहुदा जिल्लाबासीले सुविधा नपाएको भन्दै आक्रोसित वनेका युवाहरुले तीन दिनभित्र रामेछाप–काठमाण्डौं उडान नभए आन्दोलनमा उत्रने चेतावनी दिदै शान्तिदिप युवा क्लव रामेछापले मगंलवार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा समक्ष माग पत्र प्रस्तुत गरेका छन् ।

क्लवका अध्यक्ष सुरेश उदास सहित जेनजी समुहका युवाहरु जिल्ला प्रशासन कार्यालयमा पुगी उक्त माग पत्र प्रमुख जिल्ला अधिकारीलाई पेश गरेका हुन् । यहीँ असोज १७ गतेदेखी १९ गतेसम्म परेको अविरल वर्षात कारण सडक क्षतविक्षत भएपछि बृद्धबृद्धा, असक्त, विरामीहरुले सहज रुपमा काठमाडौंसम्म जान आउन अति नै जोखिम मोलेर यात्रा गर्नुपर्ने वाध्यता रहेको छ । कतिपय विरामीहरुको विच बाटोमा नै ज्यान गुमाउनु पर्नेसम्मको समस्या झेल्नु परेको तर जिल्लामा भएको विमानस्थलवाट नागरिकहरुले सेवा पाउन नसकेको भन्दै युवाहरु आक्रोसित बनेका हुन् ।

सोमवार पनि क्लवका युवाहरु र जेनजी युवाहरु सोही विषयलाई लिएर विमानस्थल र जिल्ला प्रशासन कार्यालयसम्म पुगेका थिए । युवाहरुले पेश गरेको माग पत्र वुझ्दै रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जिल्लावासिको माग जायज रहेकाले सम्वन्धित निकायले समयमा नै सोच्नुपर्ने भन्दै मागको बिषयमा माथिल्लो निकायमा जानकारी गराउने जानकारी दिए ।

रामेछाप विमानस्थलबाट विगत वर्षदेखी विभिन्न तीन निजी वायु सेवा कम्पनीहरुले रामेछाप हुँदै सोलुको लुक्ला उडान भर्दै आएका छन् । रामेछाप–काठमाण्डौं उडान नभर्दा रामेछापका नागरिकहरुले हवाई सेवा पाउन सकेका छैनन् । स्थानिय युवाहरुले रामेछाप–काठमाण्डौं उडान तालिका सार्वजनिक गरी यात्रुहरुलाई सुविधा दिनुपर्ने माग राखेका छन् ।

हाल विमान कम्पनीहरुले काठमाण्डौं–रामेछाप–सोलु उडान भरेता पनि पर्यटकहरुलाई मात्रै ओसार्ने काम गर्दै आएका छन् । कहिलेकाहीँ ती कम्पनीका जहाजहरु काठमाण्डौं जाने र यात्रु नभएको खण्डमा मात्रै केही यात्रुहरु एकतर्फी लैजाने गरेका छन् । तर ती जहाजहरुले तालिका सार्वजनिक गरेर उडान भने भरेका छैनन् । अहिले रामेछाप विमानस्थलवाट सिता, समिट र तारा यएरलाइन्सहरुले पर्यटकहरुलाई सेवा दिदै आएका छन् । रामेछाप विमानस्थलवाट लुक्ला उडान सरदर दैनिक २५ देखी ५० उडानसम्म हुने गरेका छन् ।

Scroll to Top