सिवालय आधारभूत विद्यालय भवन पहिरोले पुर्यो

रामेछाप । रामेछाप नगरपालिका–५ रामपुर स्थित कोलोन्जोरमा रहेको सिवालय आधारभूत विद्यालय भवन पहिरोले पुरिदा विद्यालयको पठनपाठन ठप्प हुने भएको छ ।

अविरल वर्षासँगै केही दिन अघि सडकवाट झरेको पहिरोले विद्यालय भवन पुरेको हो । दशैं विदामा विद्यालय बन्द हुँदा शिक्षक र विद्यार्थीहरुलाई केही क्षती नपुर्याएता पनि विद्यालयमा भएको फर्निचर, कम्प्युर र शैक्षिक सामाग्रीहरु सहित विद्यालय भवन पूर्णरुपमा नष्ट भएको छ । सो विद्यालयमा कक्षा एलसिडी देखी कक्षा ५ सम्म पढाई हुँदै आएको थियो । विद्यालयमा हाल ४० जना विद्यार्थीहरु अध्ययनरत रहेको सिवालय आधारभूत विद्यालयका प्रधानाध्यापक भीमवहादुर माझीले जानकारी दिए ।

उनले भने– विद्यालय भवन काम नै नलाग्ने गरी पहिरोले पुरेको छ । पहिरोले पुरिदा विद्यालयमा भएका सम्पूर्ण सामाग्रीहरु काम नै नलाग्ने भएका छन् । अहिले दशैं र तिहार विदाको लागि विद्यालय वन्द गरिएको छ । तिहार पछि विद्यालय खुल्ने अवस्था छैन् । विद्यार्थीहरुलाई कहाँ राखेर पढाउने समस्या छ । विद्यालयको प्रयाप्त जग्गा समेत छैन् । तत्काल रामेछाप नगरपालिकासँग समन्वय गरेर अस्थायी रुपमा टिएलसी निमार्ण गरी विद्यालयको पठनपाठन नियमित गर्नुपर्ने अवस्था आएको प्रअ माझीले बताए ।

विद्यालयको आर्थिक श्रोत न्यून भएको र अभिभावकहरु समेत आर्थिक अवस्था कमजोर भएकाले विद्यालयले मात्रै विद्यालय भवन निमार्ण गर्नसक्ने अवस्था नरहेको सो विद्यालयका व्यवस्थापन समितिका सदस्यले जानकारी दिए । उनले भने– यहाँ पढ्ने सवै बालबालिकाको अभिभावकहरुको आर्थिक अवस्था कमजोर छ । हामीले चन्दा उठाएर विद्यालय भवन निमार्ण गर्न सक्ने अवस्था छैन् ।

विद्यालयमा भएको क्षतिका बिषयमा विद्यालयका प्रअ र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले वडा कार्यालयमा जानकारी गराएसँगै रामेछाप नगरपालिकामा यस बिषयमा आफुले जानकारी गराइसकेको रामेछाप नगरपालिका–५ का वडा अध्यक्ष हरिश्चन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने–विद्यालय खुल्न अझै केही समय लाग्छ । त्यतिबेर सम्म विद्यालय नजिकै जग्गा खोजेर अस्थायी रुपमा कटेज (टिएलसी) निमार्ण गरेर पठनपाठन नियमित गर्न आवश्यक व्यवस्थापनको लागि नगरपालिकासँग अनुरोध गरेको छु अध्यक्ष श्रेष्ठले बताए ।

यसअघि विद्यालय भवनमा कुनै पनि पहिरोले क्षती पुर्याएको थिएन । केही वर्षअघि रामेछाप नगरपालिका र वडा कार्यालयले विद्यालय माथिल्लो भागवाट कोलोन्जोरघाट तर्फ कच्ची सडक निमार्ण गरेको थियो । अहिले सोही सडकवाट पहिरो झरेर विद्यालय भवन पुरेको हो । पहिरोले विद्यालय भवन पुरे सँगै आफ्ना बालबालिकाको पढाई प्रभावित हुने भयो भन्ने चिन्ता आम अभिभावकहरुमा परेको रामेछाप नगरपालिका–५ कोलोन्जोरकी सिता माझीले बताइन ।

Scroll to Top