रामेछाप । लामो समयसम्म पानी नपरेर खडेरीका कारण किसानहरुले खेत तथा वारीमा लगाएको बाली सुक्ने चिन्ताले पिरोलिरहेको समयमा हिउँदे वर्षात भएसँगै रामेछापका किसानहरुमा खुसी छाएको छ ।

खेत तथा पाखो वारीमा किसानहरुले धेरै कठिन मिहिनेतका साथ लगाइएको गहुँ, मकै, आलु, प्याज, लसुन, धनिया जस्ता विभिन्न तरकारी बालीहरु खडेरीका कारण सुक्नै लागेको बखत हिउँदै वर्षात हुँदा ती बालीहरुमा ठूलो राहात पुगेसँगै किसानहरुको मुहारमा खुशियाली छाएको हो । लगाएको बालीनाली खडेरीका कारण सबै सुक्न लागेको अवस्थामा अहिले परेको पानी वरदान सरह सावित भएको मन्थली नगरपालिका–१ का किसान हरिराम भुजेलले जानकारी दिए ।
उनले भने– खेतमा लगाएको गहुँ, मकै र आलु साथै बारीमा लगाएको अन्य तरकारी बालीमा अहिले परेको पानीले निकै राहात पुगेको छ । राम्रो उव्जनी होस् भन्ने हेतुले हजारौं रुपैयाँ खर्चेर खरिद गरेको उन्नत प्रजातीको बीउँ खेतमा लगाइएको थियो । विरुवा राम्रो सप्रिएर आएता पनि पानी नपर्दा खडेरीले ओइलीएर मर्ने अवस्थामा पुगेको थियो । अहिले पानी परेपछि लगाएको बाली सप्रिएर हरियै भएसँगै उब्जनी बढ्ने अपेक्षा आफुले लिएको भुजेलले बताए ।


जिल्लाका ८ वटै स्थानिय तहका अधिकासं स्थानमा किसानहरुले प्रत्यक्ष सिंचाई सुविधा नपुगेको क्षेत्रमा पनि खेत तथा पाखो बारीमा विभिन्न किसिमका बालीनालीहरु लगाएका छन् । सिंचाई सुविधा नपुगेका क्षेत्रका किसानका लागि त यो अहिले भएको बर्सातले झन् ठूलो राहत बन्न पुगेको छ ।
बर्षातले माटोमा आवश्यक चिस्यान उपलब्ध गराएपछि बालीको वृद्धि पुनः सक्रिय भएको छ । यसले उत्पादन मात्र नभई बालीको गुणस्तरमा समेत सुधार आउने अपेक्षा आफु जस्तै सबै किसानहरुले लिएको रामेछाप नगरपालिका–१ गोठगाउँकी कृषक अप्सरा सापकोटाले जानकारी दिइन ।
हिउँदे वर्षासँगै उच्च लेकाली भुभागका किसानहरु मकै छर्नमा व्यस्त भएका छन् । त्यस्तै तल्लो तटिय क्षेत्रका किसानहरु भने बाजो बारी जोत्ने र मल हाल्नमा ब्यस्त भएका छन् । तल्लो तटिय क्षेत्रमा बैशाख महिनामा मकै छर्ने गर्दछन् । मकै छर्ने समयमा पानी परेपछि किसानमा थप उल्लास छाएको हो ।




