रामेछाप । रामेछापमा क्रियासिल पत्रकारहरूलाई प्रदान गरिएको पाँच दिने प्रविधिमा आधारित शिक्षा स्वास्थ्य अनलाइन पत्रकारिता तालिम मंगलवार सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश समिति, नेपाल पत्रकार महासंघ रामेछाप र मन्थली नगरपालिकाको संयुक्त आयोजनामा उक्त तालिमको आयोजना गरिएको हो । वैशाख १५ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको सो तालिममा ३६ जना पत्रकारहरूको सहभागिता रहेको थियो ।
तालिमको समापन मन्थली नगरपालिकाकी उपप्रमुख ईश्वरी बस्नेतको प्रमुुख आतिथ्यता, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको विशेष आतिथ्यता तथा नेपाल पत्रकार महसंघ रामेछापका अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि उप–प्रमुुख बस्नेतले पत्रकारहरुले पाँच दिनसम्म सिकेको नयाँ प्रविधिको सिप आफ्नो व्यवहारमा लागुु गर्न आग्रह गरिन । उनले पत्रकार र जिल्लामा संचालित सबै संञ्चारमाध्यमको हित हुने किसिमको कार्यक्रम मन्थली नगरपालिकाले लागुु गर्ने बताइन ।
उनले भनिन्– सबै आम सञ्चार र पत्रकारहरुलाई हित हुने किसिमको साझा कार्यक्रम लिएर आउनुुस्, उक्त कार्यक्रम कार्यपालिकाको बैठकमा राखेर अनुमोदन गरेर बजेट आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा राख्ने बताइन ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि शिब देवकोटाले प्रदेशका पत्रकारहरुको क्षमता विकासका लागि यस्ता प्रविधि मैत्री तालिमको आयोजना गर्दै आएको बताए । उनले सिकेको सिपलाई आफ्नो दैनिक व्यवहारमा लागुु गर्दै आफ्नो कामलाई अझ बढाउन आग्रह गरे । पत्रकार महासंघ बागमती प्रदेशलाई बलियो बनाउँदै आगामी आर्थिक वर्षबाट क्रियासिल पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने गरी आफुले काम गरिरहेको पनि अध्यक्ष देवकोटाले बताए ।
त्यस्तै तालिमका प्रशिक्षक दीपक आचार्यले रामेछापका सबै पत्रकारहरुले ध्यान दिएर तालिम लिएको र यसवाट नयाँ प्रविधिमा काम गर्न सक्ने क्षमता विकास गरेको भन्दै तालिम अवधिमा सिकेको सिपलाई व्यवहारमा लागु गर्न पनि उनले आग्रह गरे ।
पाँच दिनसम्म सिकेको प्रविधि निकै राम्रो भएको र यो पत्रकारहरुलाई दैनिक गर्नुपर्ने काममा प्रयोग हुने भएकाले जिल्लाका धेरै पत्रकारहरुले आफ्नो सिपमा दक्षता हासिल गरी क्षमता विकास गर्न सफल भएको तालिममा सहभागी सुमित श्रेष्ठले बताए ।