रामेछाप । मन्थली नगरपालिका–११ गेलुमा निर्माणाधिन प्राथमिक स्वास्थ्य केन्द्रको भवन अलपत्र छाडेर निर्माण व्यवसायी फरार भएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रको भवन नहुँदा अस्पतालमा उपचार लिन आउने विरामीलाई असहज हुँदै आएको छ । उपचार लिन आउने विरामीलाई भर्ना गरेर राख्ने नत ठाउँ छ नत उपचार गराउने कोठा नै । उक्त स्वास्थ्य केन्द्रमा रहेको पुरानो भवन भत्काएर सोही ठाउँमा नयाँ सुविधा सम्पन्न भवन निमार्णको लागि टेण्डर प्रक्रिया मार्फत भवन निमार्णको जिम्मा विवस निमार्ण सेवाले पाएको थियो ।
भवन निमार्णको काम शुरु गरेको उक्त निमार्ण सेवाले विचमै काम छाडेर हिडेको महिनौ भइसकेको छ । व्यवसायीले सरासर काम गरेको भए यतिखेर भवन निमार्णको काम पुरा भइसक्ने मन्थली नगरपालिका–११ गेलुका वडा अध्यक्ष भिमवहादुर मगरले जानकारी दिए । उनले भने– हामीले भवन समयमा सक्नुस भनेर निमार्ण व्यवसायीलाई पटकपटक भन्यौ । हामीले जति भने पनि निमार्ण व्यवसायीले कुनै चासो देखाएनन् । उल्टै भवनको काम नै बिचमै छाडेर महिनौदेखी निमार्ण व्यवसायी सम्र्पकमा छैनन् । निमार्ण व्यवसायीलाई आवश्यक कारवाहीको लागि सम्वन्धित निकायमा आग्रह गरेको बताए ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुननिर्माण गर्न थालेको गेलु सहित जिल्लाका १९ वटा स्वास्थ्य संस्थाको भवन निर्माणको लागि संझौता गरेको उक्त निर्माण सेवाले हालसम्म विजुलीकोट र सालु स्वास्थ्य चौकी बाहेक अन्य सबै स्वास्थ्य संस्थाको काम बिचमा नै अलपत्र अवस्थामा पारेर छाडेर सम्र्पक विहिन भएको छ ।
सो भवन निर्माणको काममा प्राविधिक सहयोग गर्दै आएको सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार गेलु प्राथमिक स्वास्थ्य केन्द्रको काम करिव ६५ प्रतिशत मात्र सकिएको छ । निर्माण कार्यका लागि भएको संझौताको अवधि सकिएकोले पुनःतीन महिनाको म्याद थपका लागि प्रकृया अघी बढेको आयोजनाका ईन्जिनियर संजयकुमार महतोले बताए । भवन निमार्णको काम बिचमै छाडेर हिडेका निमार्ण व्यवसायीलाई आयोजनाको तर्फबाट बारम्बार तागेता गर्दा काम गर्न तिर भन्दा विभिन्न वहाना वनाउदै आएकोले आयोजना कार्यालयले थपेको म्यादमा पनि निर्माणको काम सकिन्छ भन्ने कुनै टुङ्गो छैन ।