रामेछाप । रामेछाप, काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लाको संगम स्थल खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा ६८३ मेगावाट क्षमताको सुनकोशी–३ जलविद्युत आयोजना निमार्ण हुने भएको छ ।
उक्त आयोजना निमार्णमा नेपाल र बंगलादेशले संयुक्त लगानी गर्ने निर्णय भएको छ । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनाको निर्माणका लागि ६ महिनाभित्र दुबै देशबीच हस्ताक्षर गर्ने निर्णय भएको हो ।
ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार सुनकोशी–३ जलविद्युत आयोजनाको निर्माण र विकास गर्नका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच आगामी ६ महिनाभित्र संयुक्त उपक्रममा हस्ताक्षर हुने जनाएका छन् । सुनकोशी–३ आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । आयोजना निमार्ण सम्पन्न भएपश्चात उक्त आयोजनावाट वाषिर्क २ अर्ब ३५ करोड ६२ लाख युनिट बिजुली उत्पादन हुने अनुमान गरिएको छ ।
आयोजना निमार्ण हुने स्थानको २०७९ भदौमा बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोलीले प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन समेत गरिसकेको छ । स्थलगत अध्ययनपछि रामेछापको खाँडादेवीस्थित लुभुघाटमा आयोजित कार्यक्रममा सचिव रहमानले सुनकोशी–३ जलविद्युत आयोजना अघि बढाउन बंगलादेश इच्छुक रहेकाले चाडै नै दुई देश बिच सम्झौता गरेर कामको थालनी गर्ने बताएका थिए ।
सिन्धुलीको विपी राजमार्ग अन्तर्गत नेपालथोकबाट १ किलोमिटर दूरीमा रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकाको सिमानामा लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनेर उक्त क्षेत्रमा ४५ किलोमिटर माथिसम्म जलाशय फैलनेछ । सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिने आयोजना अध्ययनमा देखिएको छ ।
सो आयोजनाको लागि गरिएको ईआईए प्रतिवेदनअनुसार, आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुनेछन् । आयोजना निर्माण हुँदा ३ हजार २३७ हेक्टर जग्गा डुबानमा पर्नेछ भने डुबान क्षेत्रमा पर्ने जमिनमध्ये ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्ने अध्ययनले देखाएको छ । जसमा तीन जिल्लाको गरी ६५५ हेक्टर वन क्षेत्र पर्ने देखिन्छ । निमार्णाधिन सुनकोशी–३ आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुनसक्ने अनुमान छ ।